
काठमाडौं – आगामी दसैँको फूलपातीमा प्रदर्शनको लक्ष्य राखिएको सोसल पिरियड ड्रामा ‘महाराजधिराज’को विधिवत रूपमा शुभमुहूर्त सम्पन्न भएको छ। मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा शङ्ख ध्वनि र पञ्चेबाजाको गुञ्जनसहित चलचित्रको भव्य साइत गरिएको हो। बिहान ठिक ८ बजेदेखि सुरु भएर ११ बजेर ११ मिनेटसम्म चलेको उक्त विशेष पूजा कार्यक्रममा आर्यन सिग्देल, पुष्प खड्का, पूजा शर्मा र उषा रजक लगायतका मुख्य कलाकारका साथै सम्पूर्ण निर्माण टोलीको उपस्थिति रहेको थियो।
लामो समयको अनुसन्धान र पटकथा लेखनपछि फ्लोरमा जान लागेको यस चलचित्रलाई निर्देशक परिच्छेद सेनले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रूपमा लिएका छन्। निर्देशक सेन स्वयंको लेखन रहेको यस चलचित्रको छायांकन आगामी २५ गतेदेखि सुनसरीस्थित श्रीलंका टापुबाट सुरु गरिनेछ। निर्माण पक्षका अनुसार सुनसरीमा करिब एक साताको सुटिङ सकेपछि टोली राजधानी फर्किनेछ र बाँकी ७० दिन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय लोकेसनहरूमा दृश्य कैद गरिनेछ। यस चलचित्रलाई नवराज थापाले क्यामेरामा उतार्ने जिम्मेवारी पाएका छन्।

नेपाली रजतपटका झण्डै ८० जना अनुहारहरू अटाएको यस चलचित्रको स्टारकास्ट निकै जम्बो र बलियो छ। चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, नीर शाह, सुशील सिटौला, उषा रजक, दिनेश डिसी, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, विशाल पहाडी, हिउँवाला गौतम लगायतका थुप्रै स्थापित तथा नवप्रवेशी कलाकारहरूको अभिनय रहनेछ। प्रस्तुतकर्ता विराज विष्टले कलाकारहरूको यस्तो बलियो लाइनअपलाई न्याय गर्ने गरी चलचित्रलाई उत्कृष्ट र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको निर्माणमा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्टले सहकार्य गरेका छन्। ठूलो क्यानभास र बृहत् कलाकार टोलीका साथ निर्माण हुन लागेको ‘महाराजधिराज’ले नेपाली दर्शकलाई एउटा उत्कृष्ट ऐतिहासिक र सामाजिक कथाको स्वाद चखाउने निर्माण पक्षको विश्वास छ।




