हराउँदै गएको मितेरी साइनो ब्युँताउँदै ‘मितज्यू’ : दयाहाङ भन्छन्- ‘यसपटक मेरो पात्र निकै गहिरो र फरक छ’



काठमाडौं – आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘मितज्यू’ यतिबेला चर्चाको शिखरमा छ। पछिल्लो समय नेपाली समाजबाट विस्तारै हराउँदै गएको मितेरी साइनोको विषयवस्तुमा आधारित यस चलचित्रले दर्शकमाझ गहिरो उत्सुकता जगाएको छ। रिलिजको संघारमा रहँदा चलचित्रको निर्माण टोली र कलाकारहरू देशव्यापी प्रचारप्रसारमा व्यस्त छन्। विशेषगरी चलचित्रमा समावेश ‘गैराघरे साइँली’ बोलको गीतले सांगीतिक बजार तताएसँगै यसप्रतिको आकर्षण थप चुलिएको छ।

यस चलचित्रको निर्माण यात्रा निकै रोचक र लामो छ। निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले करिब आठ वर्षअघि नै यसको परिकल्पना गरेका थिए। त्यतिबेलै अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा खेलाउने अठोट लिएका उनीहरूले स्क्रिप्ट सुनाउँदा दयाहाङलाई कथा असाध्यै मन परेको थियो। यद्यपि, आफ्नो अनुभवले पात्रलाई न्याय गर्न सकिन्छ कि सकिँदैन भन्ने हुटहुटी र समय अभावका कारण तत्काल काम अघि बढ्न सकेन। यसैबीच कोभिडको महामारीले पनि केही समय धकेल्यो र निर्माण टोलीले अर्को चलचित्र ‘घरज्वाइँ’ निर्माण गर्‍यो। अन्ततः आठ वर्ष लामो प्रतीक्षापछि दयाहाङको समय मिल्यो र सौगात मल्ल, शिशिर वाङ्देल तथा नवअभिनेत्री टेरिया फौजा मगरको बलियो स्टारकास्टसहित ‘मितज्यू’ले पूर्णता पायो।

यस चलचित्रले विशेषगरी पारिवारिक सम्बन्ध, मित्रता र व्यावसायिक संघर्षको कथा बोल्ने अभिनेता दयाहाङ राई बताउँछन्। गाउँदेखि सहरसम्म चल्ने गाडीका तीनजना चालकको वरिपरि घुम्ने यस कथामा दयाहाङ, सौगात र शिशिरले चालकको भूमिका निर्वाह गरेका छन्। दयाहाङका अनुसार, गाडी चलाउने पेसाको दौडधुप र पारिवारिक जिम्मेवारीबीच चेपिएको एउटा पात्रको मनोवैज्ञानिक अवस्थालाई चलचित्रमा गहिरो रूपमा उतारिएको छ। बाहिरी हाउभाउभन्दा पनि पात्रको भित्री भावनासँग खेल्न रुचाउने उनी, ‘मितज्यू’मा आफूलाई नितान्त फरक तर समाजकै यथार्थपरक र गहिरो पात्रको रूपमा दर्शकले पाउने दाबी गर्छन्। टिजर र ट्रेलरले चलचित्रको सानो झल्को मात्र दिएकाले हरेक पात्रको विस्तृत कथा बुझ्न सिंगो चलचित्र नै हेर्नुपर्ने उनको भनाइ छ।

पर्दामा दयाहाङ र सौगात मल्लको जोडीलाई दर्शकले निकै रुचाउँदै आएका छन्। तर, ‘लुट’ वा ‘कबड्डी’ जस्ता पूर्ववर्ती चलचित्रहरूमा देखिएको भन्दा ‘मितज्यू’मा उनीहरूको सम्बन्ध बिलकुलै फरक रहेको दयाहाङ प्रस्ट्याउँछन्। यस चलचित्रमा उनीहरूका उद्देश्य र दौडाइका कारणहरू बेग्लाबेग्लै रहेकाले दर्शकले सुरुवातमा केही शंका गरे पनि एक नयाँ प्रकारको रसायन (केमेस्ट्री) पाउन सक्नेछन्। त्यसैगरी, नवअभिनेत्री टेरिया मगरसँगको सहकार्यलाई उनले सामान्य र स्वाभाविक रूपमा लिएका छन्। स्क्रिप्टको आवश्यकता अनुसार जोसुकै कलाकारसँग काम गर्दा पनि पात्रको मनोविज्ञान बुझेर त्यसमा ढल्नु र आपसी तालमेल मिलाउनु नै साँचो अभिनय रहेको उनको बुझाइ छ।

चलचित्रको शीर्षक ‘मितज्यू’ रहे पनि व्यक्तिगत जीवनमा भने आफूले अहिलेसम्म कसैसँग ‘मित’ नलगाएको दयाहाङ खुलाउँछन्। यद्यपि, नेपाली समाजमा यसको ऐतिहासिक महत्त्व र परम्पराबारे उनी जानकार छन्। विगतमा दुई पक्षबीचको झगडा वा मनमुटाव मिलाउन मितेरी साइनो गाँस्ने चलन रहेको स्मरण गर्दै उनी यसलाई वर्तमानको सामाजिक तथा राजनीतिक परिवेशसँग पनि जोडेर हेर्न सकिने बताउँछन्। आजको राजनीतिक गठबन्धन वा विभिन्न क्षेत्रमा हुने सहकार्यलाई पनि एक प्रकारको आधुनिक ‘मितेरी साइनो’कै रूपमा बुझ्न सकिने दयाहाङको रोचक विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu