
काठमाडौं – उच्च अदालत पाटनले प्रदर्शनका लागि अनुमति दिएसँगै कानुनी झमेलामा फसेको नेपाली चलचित्र ‘लालीबजार’ यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। कानुनी अड्चन हटेपछि उत्साहित बनेको निर्माण पक्षले तत्काल रिलिजको तयारी थालेको हो। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार शुक्रबारको सार्वजनिक प्रदर्शनअघि बिहीबार चलचित्रको विशेष प्रिमियर शो आयोजना गर्ने तयारी भइरहेको छ।
यम थापाको निर्देशनमा तयार भएको यस चलचित्रको अहिले देशभरका हलहरूले अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन्। यो शुक्रबार ‘लालीबजार’ सँगै ‘मालती मंगले’, ‘गुरुआमा’ लगायतका चलचित्रहरू पनि रिलिज हुँदैछन्।
चर्चित अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यस चलचित्रले वादी समुदायकी एक आमाले आफ्नो जीवनमा गर्नुपरेको कठोर संघर्षको मार्मिक कथालाई पर्दामा प्रस्तुत गरेको छ। यसअघि गत वैशाख १८ गते नै प्रदर्शनमा आउने तय भएको यो सिनेमा कानुनी विवादका कारण रोकिएको थियो। अदालतबाट बाटो खुलेलगत्तै निर्माण पक्ष युद्धस्तरमा प्रदर्शनको तयारीमा जुटेको हो।




