चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर सम्पन्न: रबी लामिछानेदेखि मदनकृष्णसम्मले गरे उत्कृष्ट तारिफ



काठमाडौं – यही शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ।  प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकहरूबाट चलचित्रले अत्यन्तै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। चलचित्रले उठान गरेको विषयवस्तु र त्यसलाई पर्दामा गरिएको आकर्षक प्रस्तुतिले दर्शकलाई २ घण्टा ३८ मिनेटसम्म पूर्ण रूपमा एकाग्र बनाउन सफल भएको सहभागीहरूले बताएका छन्।

प्रिमियरपछि चलचित्रका कलाकारहरूको अभिनयको व्यापक प्रशंसा भएको छ। अभिनेता विजय बरालको स्वाभाविक अभिनयको चर्चा सधैँझैँ यस पटक पनि कायम छ भने नायिका वर्षा राउतले आफ्नो करियरकै हालसम्मको उत्कृष्ट अभिनय गरेको भन्दै दर्शक तथा समीक्षकबाट तारिफको वर्षा भएको छ। यसै गरी, टेलिभिजनका विभिन्न शोहरूमा कमेडी कलाकारको रूपमा चिनिएका मेक्सम गौडेलले यस चलचित्रमार्फत ठुलो पर्दामा आफूलाई बलियो रूपमा उभ्याएका छन्। उनको उपस्थितिलाई चलचित्रको एक प्रमुख ‘प्लस पोइन्ट’ मानिएको छ।

चलचित्र हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछाने पनि प्रिमियरमा पुगेका थिए। यस चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकालका पुराना साथीसमेत रहेका लामिछानेले नेपालमा भन्नै पर्ने कथा चलचित्रले उठाएको प्रतिक्रिया दिए। चलचित्र हेरुन्जेल आफू कतै पनि निराश र बोर नभएको भन्दै उनले पत्रकारहरूसँग भने, “मैले धेरै पछाडि चलचित्र हेर्ने मौका पाएँ। यो चलचित्र निकै राम्रो छ। कमेडी पनि छ, इमोसन पनि छ, कलाकारहरूको अभिनय तथा संवाद पनि राम्रो छ। आम दर्शक भएर हेर्दा यो चलचित्र निकै राम्रो छ। निर्देशक नयाँ भए पनि नयाँले बनाएको चलचित्र जस्तो लाग्दैन। म यो चलचित्र हेरेर हाँसे पनि, इमोसनल पनि भएँ।”

सभापति लामिछानेका अतिरिक्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पनि चलचित्र हेरेर यसको भरपुर प्रशंसा गरेका थिए। प्रिमियर शोमा कलाकारहरू कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्री लगायत चलचित्र युनिट, विभिन्न ओहदाका व्यक्तित्वहरू, सञ्चारकर्मी, परिवारका सदस्यहरू तथा सङ्गीत र चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित सबैबाट चलचित्रले निकै सकारात्मक प्रतिक्रिया बटुलेको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन्। प्राविधिक पक्षसमेत निकै उत्कृष्ट रहेको यस चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्र शुक्रवारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu