रोमान्टिक सवाल-जवाफ शैलीमा ‘रोल नं १’ को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक



काठमाडौं – आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोल नं १’ को नयाँ गीत ‘म्याग्दी रुमाले’ दर्शकमाझ आएको छ। निर्माण पक्षले शुक्रवार यस लोकलयमा आधारित साङ्गीतिक कोसेलीलाई सार्वजनिक गरेको हो।

सुष्मा सिग्देलको उत्कृष्ट शब्द रचना रहेको यस गीतमा सङ्गीतकार प्रशान्त सिवाकोटी स्वयंले सङ्गीत भरेका छन्। प्रशान्त र लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वर रहेको यस गीतलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले कोरसमार्फत साथ दिएका छन्। दोहोरी अर्थात् सवाल-जवाफ शैलीमा तयार पारिएको यस श्रवणीय गीतमा युवायुवतीबिचको प्रेमिल संवादलाई निकै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। मन परेकी युवतीलाई जीवनभर सँगै बिताउने युवकको प्रस्ताव र त्यसमा हतार नगर्न आग्रह गर्दै युवकको पारिवारिक अवस्थाबारे युवतीले गरेको खोजीनितीलाई गीतमा निकै रोचक तरिकाले बुनिएको छ।

गीतको भिडियो पनि उत्तिकै उत्कृष्ट बनेको छ। मौसम हिमालीको आकर्षक कोरियोग्राफी रहेको यस भिडियोमा अभिनेता विनोद न्यौपाने र जुना विश्वकर्मालगायतका कलाकारहरूलाई नृत्यसहितको अभिनयमा देख्न सकिन्छ।

जौन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रले वर्तमान शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने गम्भीर असर र त्यसले विद्यार्थीको समग्र जीवनमा ल्याउने उतारचढावको कथालाई उठान गरेको छ। महेश दवाडीको लेखन रहेको यस सिनेमालाई हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण परिवेशमा शिवराम श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्।

चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ भने बाल-कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ प्रस्तुत भएका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रका सह-निर्माताहरू छत्रमाया गिरी र रमेश चौलागाईं हुन्।

प्राविधिक तर्फ चलचित्रमा रोहित शाक्यको पार्श्व सङ्गीत, मदन घिमिरेको सम्पादन, फिरोज खड्काको मुख्य सहायक निर्देशन, कला सङ्ग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको निर्माण व्यवस्थापन रहेको छ। निर्माता विनोद पौडेलका अनुसार रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरणको जिम्मा लिएको यो चलचित्र नेपालका साथसाथै विदेशमा पनि एकसाथ रिलिज गरिनेछ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu