
काठमाडौं – बादी समुदायको भावनामा ठेस पुर्याएको आरोप लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले विपक्षीहरूलाई छलफलका लागि बोलाएको छ। मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस मुद्दामा विपक्षी बनाइएका उच्च अदालत पाटन, सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डलगायतका निकायलाई छलफलमा झिकाउने आदेश दिएको हो।
चलचित्रमा प्रयोग भएका केही संवादले बादी महिलालाई अपमानित गरेको भन्दै डा. रोशनी नेपालीले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन्। यसअघि उच्च अदालत पाटनले वैशाख २३ गते चलचित्र प्रदर्शन रोक्न परेको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै रिलिजको बाटो खुलाएपछि वैशाख २५ गतेदेखि यो सिनेमा देशभर प्रदर्शन भइरहेको छ। तर, उच्च अदालतको उक्त आदेश ‘बेरित’ को रहेको दाबी गर्दै डा. नेपालीले सर्वोच्च गुहारेकी हुन्।
अब सर्वोच्च अदालतमा विपक्षीहरू उपस्थित भई संयुक्त इजलासमा हुने छलफलपछि उच्च अदालतको फैसला सदर वा बदर हुने टुंगो लाग्नेछ। यदि सर्वोच्चले उच्चको आदेशलाई बदर गरेमा चलचित्रको प्रदर्शनमा पुनः बन्देज लाग्नेछ। षट्कोण आर्ट्सको निर्माण तथा यम थापाको निर्देशन रहेको यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ।





