टिकटक र रिल्समा छायो ‘रोल नं १’ को ‘म्याग्दी रुमाले’, दर्शकको मन जित्दै लोकलयको गीत



काठमाडौं – सार्वजनिक भएको छोटो समयमै चलचित्र ‘रोल नं १’ मा समावेश लोकलयमा आधारित गीत ‘म्याग्दी रुमाले’ ले दर्शकको व्यापक माया बटुलिरहेको छ। चार दिनअघि युट्युबमार्फत रिलिज भएको यस डान्सिङ नम्बरले यतिबेला टिकटक र फेसबुक रिल्सलगायतका सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। दर्शकहरूले गीतको भिडियोमा उल्लेख्य मात्रामा टिकटक बनाएर सेयर गरिरहेका छन्, जसले गीतको लोकप्रियतालाई थप उचाइमा पुर्‍याएको छ।

सुष्मा सिग्देलको उत्कृष्ट शब्दरचना रहेको यस गीतमा संगीतकार प्रशान्त शिवाकोटी स्वयंले संगीत भरेका छन्। प्रशान्त र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर रहेको यस गीतलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले कोरसमार्फत आकर्षक साथ दिएका छन्। गण्डकी प्रदेशको परिवेश र त्यहाँको मौलिक लवजलाई पक्रिएर तयार पारिएको यस गीतले धेरैलाई नोस्टाल्जिक बनाएको प्रतिक्रिया युट्युबमा आइरहेको छ। पर्वत, बागलुङलगायतका दर्शकले आफ्नै भेगको कथा र सुटिङ लोकेसन देखेर चलचित्रलाई सफलताको शुभकामना दिइरहेका छन् भने समिर सुनार जस्ता थुप्रै दर्शकले शब्द, स्वर र लयको उत्कृष्ट संयोजन भन्दै खुलेर तारिफ गरेका छन्।

युवायुवतीबीचको आकर्षण र प्रेमिल संवादलाई समेटिएको यस गीतमा युवकले जीवनभर सँगै बिताउन राखेको प्रस्ताव र युवतीले हतार नगर्न गरेको आग्रहलाई निकै रोचक सवाल-जवाफ शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता विनोद न्यौपाने र जुना विश्वकर्मालगायतका कलाकारहरू प्रस्तुत भएका छन्। दर्शकहरूले विशेषगरी विनोदको ऊर्जाशील नृत्य र स्वाभाविक अभिनयको खुलेर प्रशंसा गरिरहेका छन्।

गीतको चर्चासँगै आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोल नं १’ प्रति पनि दर्शकको उत्सुकता बढेको छ। जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रले वर्तमान शैक्षिक प्रणालीले बालमनोविज्ञान र विद्यार्थीको समग्र जीवनमा पार्ने गम्भीर प्रभावको कथा बोल्नेछ। चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य अभिनय रहेको छ भने निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले बाल-कलाकारको भूमिका निर्वाह गरेका छन्। चलचित्रको प्रचारप्रसारलाई तीव्र पार्दै यतिबेला कलाकारहरूको टोली मोफसल यात्रामा व्यस्त रहेको निर्माण पक्षले जनाएको छ।

महेश दवाडीको कथा लेखन रहेको यस सिनेमालाई शिवराम श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रका सह-निर्माताहरू छत्रमाया गिरी र रमेश चौलागाईं हुन्। प्राविधिक तर्फ रोहित शाक्यको पार्श्व संगीत, मदन घिमिरेको सम्पादन, फिरोज खड्काको मुख्य सहायक निर्देशन, कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको निर्माण व्यवस्थापन रहेको छ। रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरणको जिम्मा लिएको यो चलचित्र नेपालका साथसाथै विदेशमा पनि एकैसाथ प्रदर्शनमा आउने निर्माता पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu