
काठमाडौं – अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशन रहेको चलचित्र ‘पार्वती’को फस्ट लुक सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रका दुईवटा अर्थपूर्ण पोस्टरहरू दर्शकमाझ ल्याएको हो। सार्वजनिक गरिएका पोस्टरहरूले परम्परागत नेपाली चलचित्रभन्दा नितान्त फरक विषयवस्तु र नीताको चुनौतीपूर्ण अवतारलाई प्रस्तुत गर्दै दर्शकमाझ ठूलो कौतूहलता पैदा गरेका छन्।
सार्वजनिक पहिलो पोस्टरले नीतालाई ग्ल्यामरस नायिकाको छविबाट पूर्ण रूपमा बाहिर निकालेर ‘डी-ग्लाम’ अवतारमा उभ्याएको छ। छोटो कपाल, घाँटीमा कालो धागो र नीलो फ्रक सहित स्कुले छात्राको पोसाकमा देखिएकी नीताको हेराइ र मुस्कानमा एउटा छुट्टै प्रकारको निर्दोषता झल्किन्छ। यसले चलचित्रमा ‘पार्वती’ समाजले सोचेजस्तो सामान्य नभई आफ्नै छुट्टै संसारमा रमाउने र कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेकी पात्र भएको सङ्केत गरेको छ। ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको पोस्टरमा चलचित्रको शीर्षक ‘पार्वती’लाई बीचमा काटिएको शैलीमा लेखिएको छ, जसले समाजले लगाइदिएको ट्यागलाई तोड्ने वा त्यसप्रतिको विद्रोहलाई प्रतीकात्मक रूपमा बुझाउँछ।
त्यसैगरी, दोस्रो पोस्टरले भने निस्वार्थ र गहिरो पारिवारिक सम्बन्धको कथा बोल्छ। पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेका छन्। उमेरले सानो भए पनि अशोकको पात्रले नीतालाई बोक्नुले चलचित्रमा उनी एक संरक्षक वा अटुट सहाराको रूपमा प्रस्तुत भएको बलियो विम्ब खडा गरेको छ। दुवैको अनुहारमा देखिएको उन्मुक्त हाँसो र नीताले आकाशतर्फ देखाएको औँलाले उनीहरूका ठूला सपना र शुद्ध भावनात्मक सम्बन्धलाई पुष्टि गर्छ। पृष्ठभूमिमा चकले लेखिएका ‘माया’, ‘परिवार’, ‘स्नेह’ र ‘किरण’ जस्ता शब्दहरूले यो कथा शिक्षा र पारिवारिक परिवेशको वरिपरि घुमेको स्पष्ट पार्छ।
दिदी-भाइको यो मार्मिक र भावनात्मक कथालाई निर्माण पक्षले आगामी भदौ १२ गते अर्थात् रक्षाबन्धनको पावन अवसर पारेर देशभर प्रदर्शन गर्ने घोषणा गरेको छ। पोस्टरमा देखिएको दिदी-भाइको सम्बन्ध र रिलिजका लागि रोजिएको मितिले चलचित्रको मूल मर्मलाई अझ जीवन्त बनाएको छ। कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैँले सम्हालेकी नीताका लागि यो चलचित्र एक ठूलो ‘ड्रिम प्रोजेक्ट’ का साथै करिअरको महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने अनुमान गरिएको छ।
नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नीता र अशोकका साथै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ। हरिहर अधिकारी निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता तथा प्रोडक्सन हेड शंकर पाण्डे हुन्।
प्राविधिक रूपमा पनि अब्बल मानिएको ‘पार्वती’ मा सुदीप बरालको छायांकन (डीओपी), शिवम् अधिकारीको संवाद र साहिल खानको सम्पादन रहेको छ। कार्टुन क्रुका डान्सर तथा निर्देशक सरोज अधिकारीले पहिलोपटक यस चलचित्रमार्फत क्रिएटिभ निर्देशकका रूपमा काम गरेका छन्। रामजी लामिछानेको नृत्य निर्देशन र नवराज शर्माको सहायक निर्देशन रहेको चलचित्रमा एलिस कार्कीको पार्श्व सङ्गीत सुन्न सकिन्छ। चलचित्रका गीतहरूमा युवराज काफ्ले, हर्क साउद, बाबुल गिरी र सिद्धार्थ सरकार पौडेलको शब्द तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको सङ्गीत रहेको छ। यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्ने जिम्मा लिएका छन् भने डिजिटल पार्टनरका रूपमा ‘ओएसआर डिजिटल’ जोडिएको छ।






