सेभेन सिजबाट अब अर्को ब्लकबस्टरको पालो, ‘रोल नं १’ को अर्थपूर्ण ट्रेलर सार्वजनिक



काठमाडौं – आगामी जेठ १५ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार दर्शकमाझ ल्याएको यस ट्रेलरले नेपाली समाजको त्रुटिपूर्ण शैक्षिक प्रणाली, घोकन्ते विद्या र त्यसले कलिला बालबालिकाको मनोविज्ञानमा पार्ने गम्भीर असरलाई निकै अर्थपूर्ण ढङ्गले प्रस्तुत गरेको छ। यतिबेला सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टोलीले ट्रेलरमार्फत चलचित्रको मूल मर्मलाई छर्लङ्ग पारेको हो।

सार्वजनिक ट्रेलरमा एउटा बुवाको सामाजिक इज्जत जोगाउन छोराले पढ्नैपर्ने दबाब र छोराको नितान्त फरक रुचिका बीचको द्वन्द्वलाई मर्मस्पर्शी रूपमा देखाइएको छ। पहिलो हुनेलाई (रोल नम्बर एक) मात्र सम्मान गर्ने समाजको परम्परागत सोच, गरिबीकै कारण जेहेन्दार विद्यार्थी छात्रवृत्तिबाट वञ्चित हुनुपर्ने बाध्यता र अभिभावकको महत्त्वाकांक्षाले निम्त्याउने पारिवारिक तथा सामाजिक सङ्कटलाई ट्रेलरमा सूक्ष्म ढङ्गले उठान गरिएको छ। यसले विद्यार्थीको क्षमता मूल्याङ्कन गर्ने हाम्रो विद्यमान परिपाटी र घोकन्ते विद्याको पछि दौडिरहेको समाजमाथि कडा व्यंग्य प्रहार गरेको छ।

जौन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन्। चलचित्रमा निर्भिक रेग्मी, मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। शिवराम श्रेष्ठको छायांकन रहेको यस चलचित्रले दृश्यभाषामार्फत पनि बालमनोविज्ञानको गहिराइलाई छामेको आभास हुन्छ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रका सह-निर्माताहरू छत्रमाया गिरी र रमेश चौलागाईं हुन्। प्राविधिक तर्फ प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको पार्श्व संगीत, मदन घिमिरेको सम्पादन र फिरोज खड्काको मुख्य सहायक निर्देशन रहेको छ। कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशीको निर्माण व्यवस्थापन रहेको ‘रोल नं १’ लाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछन्। यो चलचित्र नेपालका सिनेमाघरहरूका साथसाथै विदेशमा पनि एकैदिन प्रदर्शनमा आउनेछ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu