
काठमाडौं – नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ कथानक चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन सुरु गरेका छन्। शुक्रबार पर्वतको कुस्मा नगरपालिकास्थित रमणीय स्थल आर्थर डाँडाखर्कमा एक विशेष शुभमुहूर्त गर्दै सारंगी फिल्म्सको प्रस्तुति रहेको यस सिनेमाको क्यामेरा अन गरिएको हो। मुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेलगायत निर्माण टोलीको उपस्थिति रहेको थियो।
यस चलचित्रमार्फत निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ को आफ्नो ‘लक्की चार्म’ मानिएको हिट कलाकार जोडी विजय र अञ्जनालाई पुनः पर्दामा सँगै ल्याउँदैछन्। अघिल्लो सिनेमाबाट बक्सअफिसमा ऐतिहासिक कमाइको रेकर्ड राख्दै आफूलाई ‘ब्लकबस्टर निर्देशक’ का रूपमा स्थापित गरेका पौडेल र यो सफल जोडीको दोस्रो सहकार्यलाई सिनेवृतमा निकै चासोका साथ हेरिएको छ। आफ्नो अघिल्लो सफलताको उचाइलाई कायम राख्दै नयाँ चलचित्रलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराख्ने निर्देशक पौडेलले बताएका छन्।
निर्देशक पौडेल स्वयंको लेखन रहेको यस चलचित्रको सम्पूर्ण छायांकन कार्य ३५ दिनभित्र सम्पन्न गर्ने निर्माण पक्षको निर्धारित तालिका रहेको छ। आरआर फिल्म्सले देशभर वितरण गर्ने जिम्मा लिएको यस चलचित्रको डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल जोडिएको छ।






