राष्ट्रिय अवार्डमा ‘ऊनको स्वीटर’को सानदार वर्चस्व, ‘चलचित्र’, निर्देशक र अभिनेत्री जित्यो



काठमाडौं – नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले हरेक वर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा यसपटक चलचित्र ‘ऊनको स्वीटर’ ले सानदार वर्चस्व कायम गरेको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित गरिमामय समारोहका बीच यस चलचित्रले उत्कृष्ट सिनेमासहित निर्देशन र अभिनेत्री गरी तीनवटा प्रमुख विधामा अवार्ड चुम्न सफल भएको हो। यसै चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशक घोषित हुँदा मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको ताज पहिरिएकी छन्।

त्यसैगरी, नेपाली रजतपटमा ६ दशक लामो अनवरत यात्रा तय गरेका दिग्गज अभिनेता नीर शाहले चलचित्र ‘परान’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन्। लामो अभिनय जीवनमा पहिलोपटक राष्ट्रिय अवार्ड प्राप्त गरेका शाहले यस चलचित्रलाई आफ्नो करियरकै ‘क्लाइमेक्स’ को संज्ञा दिएका थिए। ‘परान’ ले उत्कृष्ट लेखनतर्फको अवार्ड पनि आफ्नो पोल्टामा पारेको छ, जसमा दीपकप्रसाद आचार्य र यम थापा पुरस्कृत भएका छन्। प्राविधिक विधातर्फ चलचित्र ‘कोशेढुङ्गा’ ले उत्कृष्ट छायांकन र सम्पादनको अवार्ड जितेको छ। यस चलचित्रबाट पदमबहादुर श्रेष्ठ उत्कृष्ट छायांकार र नहकुल खड्का उत्कृष्ट सम्पादक घोषित भएका हुन्। यता, निर्णायक समिति प्रोत्साहन पुरस्कार भने ‘रमिताको पिरती’ बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’ बाट विमोचन दवाडीलाई प्रदान गरिएको छ।

समारोहको अर्को महत्त्वपूर्ण र भावुक क्षण ‘दीर्घ साधना सम्मान’ वितरणको रह्यो। राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई तीन लाख पचहत्तर हजार रुपैयाँ राशिसहितको उक्त सम्मान अर्पण गरिएको थियो। श्रेष्ठलाई सम्मान प्रदान गरिँदा समारोहमा उपस्थित सम्पूर्ण चलचित्रकर्मीहरूले आ-आफ्नो स्थानबाट उठेर एक मिनेटसम्म निरन्तर ताली बजाउँदै भव्य सम्मान (स्ट्यान्डिङ ओभेसन) व्यक्त गरेका थिए। यो ऐतिहासिक क्षणमा सम्मान ग्रहण गर्दै गर्दा श्रेष्ठसहित उनका छोरा र बुहारी निकै भावुक बनेका थिए।

सोही विशेष अवसरमा चलचित्र विकास बोर्डले अन्य एघारजना विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मानसमेत प्रदान गरेको छ। जसअन्तर्गत चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष स्वर्गीय दिनेश सिटौलालाई एकाउन्न हजार रुपैयाँ राशिसहित मरणोपरान्त सम्मान अर्पण गरिएको छ। त्यसैगरी, नेपाली कला, पत्रकारिता तथा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अविनाश विक्रम शाह, रोहित रुम्बा, एन्जिला तुम्बापो सुब्बा, लक्ष्मी बर्देवा, विनोद शेरचन र शङ्कर पाण्डेलाई पनि बोर्डले विशेष सम्मानबाट विभूषित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu