
काठमाडौं – आज तीन नेपाली चलचित्रहरू ‘बा: एक योद्धा’, ‘जदौ’ र ‘आचार्य’ रिलिज भएका छन्। भारी वर्षाका बीच प्रदर्शनमा आएका यि चलचित्रहरू पारिवारिक सम्बन्ध, अन्तरजातीय प्रेम र एक्सनप्रधान कथालाई केन्द्रमा राखेका यी तीन चलचित्रको विषयवस्तु र प्रस्तुति भने एकअर्काभन्दा फरक छन्।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको ‘बा: एक योद्धा’ ले परिवारभित्रको सम्बन्ध, सन्तानका लागि बुवाले गर्ने त्याग र संघर्ष तथा बुढेसकालमा आफ्नै सन्तानबाट भोग्नुपर्ने उपेक्षा र पीडालाई कथाको केन्द्रमा राखेको छ। चलचित्रले प्रदर्शनअघि काठमाडौं, नेपालगञ्ज, दाङ, धरान र बुटवलमा प्रिमियर शो आयोजना गरेको थियो। ती प्रदर्शनबाट चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। विशेषगरी अभिनेता दिव्यदेवको भूमिकालाई दर्शकले उनको करियरकै फरक कामका रूपमा चर्चा गरेका छन् भने अभिनेत्री सुहाना थापाको अभिनयलाई पनि फरक र प्रभावशाली भन्दै प्रतिक्रिया दिएका छन्।
‘बा: एक योद्धा’ मा दिव्यदेवसँगै झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, कृष्ण काफ्ले सह–निर्माता र अर्जुन पौडेल लाइन प्रोड्युसर छन्।
त्यस्तै, अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र ‘जदौ’ पनि आजैदेखि प्रदर्शनमा आएको छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको चलचित्रको लेखन काजी लिम्बूले गरेका हुन्। चलचित्रमा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर (खबपु), सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायत कलाकारको अभिनय छ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको ‘जदौ’मा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
यता, निखिल उप्रेतीको होम प्रोडक्सनमा बनेको ‘आचार्य’ पनि आजदेखि देश तथा विदेशका हलमा प्रदर्शनमा आएको छ। निखिल उप्रेतीकै निर्देशन तथा अभिनय रहेको चलचित्रमा प्रमोद अग्रहरी, पूर्णिका सिजापतिलगायत कलाकारको अभिनय छ। चलचित्रमा भारतका कलाकारहरूको समेत सहभागिता रहेको छ।
एक्सन अवतारमा प्रस्तुत निखिलको ‘आचार्य’ले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा पाएको थियो। चलचित्रले पाएको शो संख्या र सार्वजनिक ट्रेलरले बनाएको चर्चाका कारण फिल्मप्रति दर्शकको चासो देखिएको थियो। ट्रेलर सार्वजनिक भएपछि चलचित्र नेपालमा ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुगेको थियो।
तर, प्रदर्शनको पहिलो दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि परेको वर्षाले चलचित्रको पहिलो शोमा दर्शकको उपस्थितिलाई केही प्रभावित गरेको देखिएको छ। मौसम प्रतिकूल भए पनि चलचित्रप्रति दर्शकको प्रतिक्रिया भने सामाजिक सञ्जालमार्फत आउन थालेका छन्। निखिलको एक्सन शैली, चलचित्रको प्रस्तुति र प्राविधिक पक्षलाई लिएर सकारात्मक तथा मिश्रित प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।
यसरी पारिवारिक संवेदनाको ‘बा: एक योद्धा’, अन्तरजातीय प्रेमको ‘जदौ’ र एक्सनप्रधान ‘आचार्य’ एकैदिन प्रदर्शनमा आउँदा नेपाली चलचित्रका दर्शकसामु यसपटक तीन फरक स्वादका फिल्म छनोट गर्ने अवसर छ। अब यी चलचित्रको वास्तविक परीक्षण भने आगामी दिनमा हलमा दर्शकको उपस्थितिसँगै हुनेछ।



