
काठमाडौं – ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशन रहेको चलचित्र ‘जलाकी’ को कौडा शैलीमा आधारित दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको सङ्गीत रहेको यस गीतमा एसडी योगी र रेश्मा पुनको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनका साथै अस्तित्व भट्टचन, राजु रेग्मी मगर, दीपिका मगर लगायतलाई प्रस्तुत गरिएको छ। यसको कोरियोग्राफी सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगरले गरेका हुन्।
आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा सोनम र उपासनाका साथै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, खड्क बहादुर पुन (खबपु) र विशेष भूमिकामा क्याप्टेन विजय लामा लगायतका दर्जनौं कलाकारहरूको अभिनय रहेको छ। यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइसकेकाले निर्माण पक्ष यस गीत र चलचित्रप्रति थप आशावादी देखिएको छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर, राधा थापा र सुस्मिता बुढाथोकी रहेका छन्।



