चलचित्र ‘पाँच पाण्डव’को फर्स्टलुक पोस्टर सार्वजनिक, कात्तिक २० मा प्रदर्शन हुने



काठमाडौं – निर्माण पक्षले मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै पात्रहरूको आवरण (क्यारेक्टर लुक्स) खुलाएको छ। तिहारको अवसर पारेर आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको पोस्टरमा पाँचै मुख्य कलाकारलाई घोडाले तानेको बग्गीमा प्रफुल्ल मुद्रामा प्रस्तुत गरिएको छ, जसले उनीहरूबीचको एकता र भाइचारालाई झल्काउँछ।

पोस्टरमार्फत चलचित्रका मुख्य पात्रहरू सार्वजनिक गरिएको छ, जसमा हरिवंश आचार्य (युधिष्ठिर), जितु नेपाल (भीम), आर्यन सिग्देल (अर्जुन), महेश त्रिपाठी (नकुल) र सुशील सिटौला (सहदेव) को भूमिकामा देखिएका छन्। उनीहरूका साथै चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सिता न्यौपाने लगायतको मुख्य अभिनय रहेको छ। लेखक सुशील पौडेलका अनुसार यो एक ‘सोसल ड्रामा’ हो, जसले महाभारतका पात्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

वसन्त निरौलाको निर्देशन रहेको यस चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको ध्वनि ‘फूल डल्बी एटमस’ मा तयार गरिएको निर्देशक निरौलाले बताएका छन्। प्राविधिक पक्षतर्फ श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व सङ्गीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu