
काठमाडौं – सक्सेस फिल्मस् प्रा. लि.को प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘कन्ये केटो’मा अभिनेत्रीद्वय रेखा लिम्बु र शर्मिला राई मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। भिम लामाको लेखन तथा निर्देशन रहने यस चलचित्रमा यसअघि नै मुख्य अभिनेताका रूपमा आर्यन सिग्देल तय भइसकेका छन्।
निर्देशक लामाका अनुसार यो चलचित्र प्रेमकथामा आधारित हुनेछ। चलचित्रमा आर्यनसँग रेखा र शर्मिलामध्ये को जोडीका रूपमा प्रस्तुत हुने वा चलचित्रले त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्ने भन्ने विषय निर्माण पक्षले खुलाएको छैन। यस चलचित्रमा अनुबन्धित रेखाले यसअघि ‘जारी’, ‘जारी २’ र ‘तारेभीर’ जस्ता चलचित्रमा काम गरिसकेकी छन् भने शर्मिलाले चलचित्र ‘लडाइँ पहिचानको’ बाट अभिनय यात्रा सुरु गरेकी हुन्।
यस चलचित्रका निर्माता भिम लामा र सुखदेव राई हुन् भने सह-निर्मातामा श्री लामा र कमला राई रहेका छन्। हाल चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ। अन्य कलाकारहरूको छनोट प्रक्रिया अन्तिम चरणमा रहेको र केही दिनभित्रै नाम सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। सम्पूर्ण तयारी पूरा गरी आगामी असोज महिनाको पहिलो साताबाट चलचित्रको छायांकन सुरु गरिने निर्देशक लामाले जानकारी दिएका छन्।



