
काठमाडौं – अभिनेता अरुण क्षेत्री नयाँ चलचित्र ‘फेरि भेटौंला’मा मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका छन्। अनन्या फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको औपचारिक घोषणा गरिएको छ। करिब २६ करोड रुपैयाँको व्यापार गर्दै नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाउने दोस्रो चलचित्र बनेको ‘गौँथली’ पछि क्षेत्री यस प्रोजेक्टमा जोडिएका हुन्।
निर्माण पक्षका अनुसार ‘फेरि भेटौंला’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ। चलचित्रका लागि मुख्य अभिनेता तय भए पनि दुई मुख्य अभिनेत्रीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।
सरोज न्यौपानेको निर्माण रहने यस चलचित्रको कथा तथा पटकथा रमेश चौलागाईले तयार पारेका हुन्। आगामी तिहारलगत्तै चलचित्रको छायांकन सुरु गर्ने कार्यतालिका रहेको छ। सम्पूर्ण निर्माण प्रक्रिया पूरा गरी चलचित्रलाई आगामी नयाँ वर्ष अर्थात् २०८४ साल वैशाख १ गते प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।



