‘बेहुली’मा सुशान्तको ‘रफ एन्ड टफ’ प्रहरी अवतार, सुटिङको समयमा नुन र पानी समेत छोडे



काठमाडौं – यही शुक्रबार भदौ २६ गतेबाट देशभरका हलहरूमा प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ यतिबेला चौतर्फी चर्चामा छ। विशेष गरी चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसमा समेटिएका पात्र र अभिनयको तारिफ भइरहेको छ। यसैबीच, चलचित्रमा एउटा ‘एंग्री योङ पुलिस अफिसर’ को दमदार अवतारमा देखिन लागेका अभिनेता सुशान्त कार्की यतिबेला मिडिया र दर्शकमाझ हट केक बनेका छन्।

हालै आयोजना गरिएको चलचित्रको ट्रेलर रिलिज समारोहमा सुशान्तलाई उनको लुक्स र भूमिकाबारे सोधिएको एक प्रश्नको उत्तरले सबैलाई अचम्मित बनाएको थियो। पत्रकारहरूले उनको लोभलाग्दो र सुगठित शरीरको रहस्यबारे प्रश्न गर्दा सुशान्तले आफ्नो चरित्रलाई न्याय दिन र ज्यान मेन्टेन गर्न सुटिङको समयमा नुन र पानी समेत छोडेको खुलासा गरेका थिए। एउटा कडा प्रहरी अधिकारीको भूमिकामा आफूलाई फिट राख्न उनले गरेको यो त्याग र समर्पणको अहिले सर्वत्र प्रशंसा भइरहेको छ।

निर्माण पक्षले हालै मात्र मिडियालाई उनका केही तस्बिर र भिडियोहरू उपलब्ध गराएको छ, जहाँ उनले जिममा गरेको कठोर मिहिनेत स्पष्ट देख्न सकिन्छ। उनी एकदमै सुगठित, फिट र आकर्षक मस्कुलर शरीरसहित प्रहरीको भूमिकामा प्रस्तुत भएका छन्। आफ्नो भूमिकालाई पर्दामा जीवन्त उतार्न उनले शारीरिक रूपमा गरेको यो ट्रान्सफर्मेसनले चलचित्रप्रति दर्शकको कौतुहलता झन् बढाएको छ।
एक्सन र ड्रामाले भरिएको यस भूमिकामा सुशान्तको एंग्री लुक्स चलचित्रकै एउटा मुख्य आकर्षण हुने अनुमान गरिएको छ।

यसअघि विभिन्न चलचित्रहरूमा फरक-फरक भूमिकामा देखिएका सुशान्तका लागि ‘बेहुली’ करिअरकै एउटा महत्वपूर्ण मोड बन्न सक्छ। विगतका चलचित्रहरूमा भन्दा यसपटक उनको स्क्रिन प्रेजेन्स निकै परिपक्व र आक्रामक छ। लभर ब्वाई वा अन्य भुमिकाहरूमा रुचाइएका सुशान्तले यसपटक खाकी बर्दीमा गरेको कठोर मिहिनेतले उनको अभिनय दायरा कति फराकिलो छ भन्ने पुष्टि गर्छ।

भदौ २६ मा आउँदैछ ‘बेहुली’शशान कँडेलको निर्देशन र चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति रहेको चलचित्र ‘बेहुली’का निर्माता प्रताप शमसेर राणा हुन्। यस चलचित्रमा सुशान्तका साथै पारस बम ठकुरी (कुल ब्वाय), दिव्या रायमाझी, सरिता गिरी, कर्मा लामा, सन्तोष बानिया, पदम तामाङ लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। पारिवारिक ड्रामा, रोमान्स र एक्सनको सम्मिश्रण रहेको यो चलचित्र भदौ २६ गतेदेखि हलहरूमा लाग्दैछ।

सुशान्तको यो ‘रफ एन्ड टफ’ प्रहरी अवतारले हलमा कत्तिको ताली पाउने हो, त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu