
काठमाडौं – सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको आगामी नेपाली चलचित्र ‘बाटुलो जून’ मा समावेश पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ नेपालको युट्युब भिडियो ट्रेन्डिङको शीर्ष स्थान (नम्बर १) मा उक्लिएको छ। बडा दशैंको घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको यस गीतले दुई दिनमै ५ लाखभन्दा बढी भ्युज बटुलेको छ, जसलाई निर्माण पक्षले विशुद्ध ‘अर्गानिक भ्युज’ भएको दाबी गरेको छ।
यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजर पनि हालसम्म युट्युबको मुभी चार्टतर्फ शीर्ष स्थानमै कायम छ। समग्र भिडियो ट्रेन्डिङमा गीत र मुभी चार्टमा टिजरले पहिलो स्थान कब्जा गरेसँगै आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रप्रति दर्शकको उच्च उत्सुकता रहेको प्रमाणित भएको छ।
सार्वजनिक गीतको भिडियोमा मुख्य अभिनेता अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पुरानो नेपाली समाजको संरचना र परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीको प्रस्तुतिलाई दर्शक तथा शुभचिन्तकहरूले निकै रुचाएका छन्।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको ‘बाटुलो जून’ लाई अभिनेत्री जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। चलचित्रमा सह-निर्माताको रूपमा विवेक थापा रहेका छन्।



