
काठमाडौं – आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली चलचित्र ‘सारथी’ को प्रोमो सार्वजनिक भएको छ। किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गरिएको छ। बच्चाको रोदनसँगै सुरु हुने प्रोमोमा काखमा दुधे बालक बोकेकी र पैतालाबाट रगत बगिरहेको अवस्थामा देखिएकी निरुताको मर्मस्पर्शी दृश्यले चलचित्रको कथावस्तुप्रति दर्शकको कौतुहलता बढाएको छ।
कुमार गजुरेलको निर्देशनमा निर्माण भएको यस चलचित्रमा निरुताका साथै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा लगायतका दर्जनौं कलाकारहरूको अभिनय रहेको छ। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् भने रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेका छन्।
म्याग्दीको गुर्जा क्षेत्रका मनमोहक दृश्यहरू कैद गरिएको यस चलचित्रमा संकल्प भुजेलको छायांकन तथा बाबुल गिरी र प्रशान्त शिवाकोटीको सङ्गीत रहेको छ। चलचित्रका कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन् भने सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। यो चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ।



