पश्चिम नेपालमा अनमोलको क्रेज, ‘बाटुलो जुन’ले ११ दिनमा ८ करोड ३५ लाखभन्दा बढी कमायो



चलचित्र ‘बाटुलो जुन’का नायक अनमोल केसी

काठमाडौं । चलचित्र ‘बाटुलो जुन’को टिम पश्चिम नेपालका विभिन्न जिल्लाको एक साता लामो यात्रा सकेर काठमाडौं फर्किएको छ । निर्देशक भुवन केसी, नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडासहितको टिम विभिन्न सहरका हलमा पुगेर दर्शकसँग भेटघाटमा व्यस्त रह्यो ।

दाङबाट सुरु भएको दर्शक भेटघाट कार्यक्रम नेपालगञ्ज, धनगढी, चितवन हुँदै पोखरासम्म पुगेको थियो । यसअघि चलचित्र ‘जेरी : अन टप’का लागि अनमोल दाङ र नेपालगञ्ज मात्र पुगेका थिए । यसपटक भने उनी पश्चिमका अधिकांश हलमा पुगे ।

हलमा अनमोलप्रति दर्शकको क्रेज उल्लेख्य देखियो । उनलाई भेट्न दर्शक बिहानैदेखि हलमा पुगेका थिए भने कतिपय दर्शक अनमोल आउने आशामा दिनभर हलमै बसेका थिए । अनमोलसँग तस्बिर खिचाउन दर्शकको भीड लागेको थियो । दर्शकको अथाह माया पाएर अनमोल निकै खुसी देखिए ।

चलचित्र ‘बाटुलो जुन’को प्रदर्शनपछि हलमा नायक अनमोल केसीलाई घेरेर तस्बिर खिच्दै दर्शक

निर्देशक तथा अभिनेता भुवन केसीलाई भेट्न पाउँदा पनि दर्शक उत्साहित देखिए । पश्चिम नेपालले दिएको मायाले आफू भावुक भएको भुवनले सुनाए ।

पहिलो चलचित्रमै नायिका प्रिन्सी खतिवडाले दर्शकको राम्रो साथ पाएकी छन् । पश्चिमका दर्शकबाट पाएको मायाले उनी उत्साहित देखिइन् । दर्शकले उनलाई ‘माउसुली’ र ‘छत्कुल्ली’ भनेर बोलाएका थिए ।

चलचित्रले ११ दिनमा बक्स अफिसमा ८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको छ । पश्चिम नेपालका अधिकांश हलमा चलचित्रले राम्रो व्यापार गरिरहेको छ र कुल कमाइमा यस क्षेत्रको योगदान उच्च देखिएको छ ।

जिया केसी र भविष्य खड्काको निर्माण रहेको चलचित्रका सह-निर्माता विवेक थापा हुन् । कथा सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन तथा युग भुसाल र एस.डी. योगीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu