चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ फागुन २३ गतेदेखि सुरु हुने, वैशाख ११ मा काठमाडौंमा अवार्ड समारोह, चलचित्र पर्यटन र जलवायु परिवर्तनको सन्देश



काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको घोषणा गरिएको हो। दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ हुने आयोजकले जनाएका छन्।

चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा कार्यक्रममा दीप प्रज्वलन गर्दै अतिथिहरू
घोषणा कार्यक्रममा दीप प्रज्वलन गर्दै अतिथिहरू

फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र प्रदर्शन हुनेछ। सोही दिन पर्यटन तथा चलचित्र संवाद, विशेष चलचित्र प्रदर्शन र ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ शीर्षकको भिडियो प्रतियोगिता पनि आयोजना गरिनेछ।

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुनेछ। त्यसपछि सन् २०२७ को मेमा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद आयोजना गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए।

कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकन हब बनाउने लक्ष्यसहित महोत्सव हरेक वर्ष हुँदै आएको छ। आयोजकका अनुसार कर्णालीमा प्रचुर सम्भावना भए पनि पर्यटन र चलचित्रसम्बन्धी गतिविधि निकै कम छन्। त्यहाँका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा राज्यको भूमिका कमजोर रहेको भन्दै ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ नारासहित महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान सुरु गरिएको हो।

कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल र छायांकन स्थललाई देश–विदेशका चलचित्र निर्माता र निर्देशकसमक्ष पुर्‍याउनु महोत्सवको मुख्य उद्देश्य हो। पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने चलचित्रलाई विशेष सम्मान र प्रोत्साहन गरिने आयोजकले बताएका छन्।

चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ब्यानर समातेर तस्बिर खिचाउँदै अतिथिहरू
महोत्सवको ब्यानरसहित तस्बिर खिचाउँदै कार्यक्रममा सहभागी अतिथिहरू

महोत्सवले कर्णालीका स्थानीय कलाकार र चलचित्रकर्मीको पहिचान र प्रोत्साहन, गाउँ–गाउँमा नेपाली चलचित्र प्रदर्शन, चलचित्र साक्षरता अभियान तथा चलचित्र क्षेत्रका चुनौतीबारे बहस र छलफल गर्ने योजना बनाएको छ। संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा महोत्सव सञ्चालन गरिने आयोजकले जनाएका छन्। रेडचेरी र टिमले सुरु गरेको यो महोत्सवका निर्देशक चक्रबहादुर चन्द हुन्।

‘चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा कार्यक्रम’ मा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, दैलेखको गुराँस गाउँपालिकाका प्रमुख टोप बहादुर बिसी, निर्माता–निर्देशक तथा लेखक दिपकराज गिरी, निर्माता–निर्देशक एवं अभिनेता आकाश अधिकारी, निर्माता–निर्देशक तथा वरिष्ठ अभिनेत्री रेखा थापा, किफ सद्भावना दूत युवा स्टार प्रदिप खड्का, निर्माता–निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी, लेखक–निर्देशक रामशरण पाठक र कलाकार तथा युवा नेता हिमेश पन्तको उपस्थिति थियो।

घोषणा कार्यक्रममा मन्तव्य राख्दै एक वक्ता
घोषणा कार्यक्रममा मन्तव्य राख्दै अभिनेता प्रदीप खड्का

महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्र पर्यटन र जलवायु परिवर्तनको मुद्दालाई यसपटक पनि सदाझैँ अघि बढाइने बताए। “कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकन हब बनाउने हाम्रो लक्ष्य हो। कर्णालीका पर्यटकीय र धार्मिक स्थल तथा छायांकन स्थललाई देश–विदेशका निर्माता र निर्देशकसम्म पुर्‍याउने, स्थानीय कलाकार र चलचित्रकर्मीको पहिचान र प्रोत्साहन गर्ने तथा पर्यटन र जलवायु परिवर्तनको सन्देश दिने चलचित्रलाई विशेष सम्मान गर्ने काम यसपटक पनि निरन्तर हुनेछ,” उनले भने।

किफ सद्भावना दूत प्रदिप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय रूप दिँदै आएको र आगामी दिनमा यो झन् सशक्त हुने बताए। चलचित्र र पर्यटनलाई सँगै अघि बढाउन महोत्सव सधैँ अग्रपङ्क्तिमा रहने उनको भनाइ छ।

अभिनेता तथा निर्देशक दिपकराज गिरीले आफू काठमाडौंको रैथाने भए पनि कर्णालीले आफूलाई सधैँ आकर्षित गर्दै आएको बताए। आगामी दिनमा आफ्नो चलचित्र कर्णालीमै छायांकन गर्न सकिने सम्भावना पनि उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu