काठमाडौं । मंसिर ११ गते शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारथी’ ले केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ। समितिले चलचित्रलाई प्रमाणपत्र दिएको हो। यससँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

निर्देशक कुमार गजुरेलका अनुसार पारिवारिक कथा समेटिएको चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया सेन्सर बोर्डका पदाधिकारीहरूले पनि दिएका छन्। चलचित्रका प्रचार सामग्री टिजर, गीत र ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका छन्।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन्। सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायतले अभिनय गरेका छन्।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्माता बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ हुन्।
अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर छन्। चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको सङ्गीत छ। मुख्य सहायक निर्देशन राजु खतिवडाको हो भने यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन्। चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ।


