
काठमाडौं – कस्तुरी प्रोडक्सन प्रा.लि.को प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लि.को सहकार्यमा पश्चिम नेपालको दाङमा छायांकन भइरहेको नयाँ नेपाली चलचित्र ‘सिन्दूर’ मा चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री निरुता सिंहको प्रवेश भएको छ। यसअघि नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक गरिएकोमा अब यी दुई चर्चित अनुहार पनि चलचित्रमा जोडिएका हुन्। निर्देशक लक्ष्मण सुनारका अनुसार निरुताले केही दिनभित्रै र विपिनले दशैंपछि छायांकन सुरु गर्नेछन् भने उनीहरूको भूमिकाबारे हाल केही खुलाइएको छैन।
एक महिलाको जीवनमा ‘सिन्दूर’ को महत्त्व कति हुन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर सामाजिक कथामा निर्माण भइरहेको यस चलचित्रको एक महिने कार्यतालिका (सेड्युल) बनाएर धमाधम छायांकन भइरहेको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा मदन सुरखेतीको सह-लेखन रहेको छ।
सञ्जिव सार्कीको लगानी रहेको यस चलचित्रका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन्। चलचित्रको निर्माण प्रमुखमा प्रकाश हमाल तथा प्रोडक्सन म्यानेजरको रूपमा रोहित वली र विकेश लामा रहेका छन्। प्राविधिक पक्षतर्फ संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको सङ्गीत, एनवी महर्जनको द्वन्द्व निर्देशन (एक्सन), रामजी लामिछानेको नृत्य निर्देशन तथा करण बहादुर साउदको मुख्य सहायक निर्देशन रहेको छ। चलचित्रको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन।




