
काठमाडौं – निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहु प्रतीक्षित चलचित्र ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’ को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार बाँसुरी फिल्मस्को युट्युब च्यानलमार्फत यो गीत दर्शकमाझ ल्याएको हो। कालीप्रसाद बास्कोटाको स्वर, शब्द र सङ्गीत रहेको यस गीतमा रिकेश गुरुङ किजको सङ्गीत संयोजन, हेमन्त कान्छा रसाइलीको सारङ्गी र कृष्ण लिम्बूको बेस गितार रहेको छ।
कुनै विशेष कोरियोग्राफी बिना चलचित्रकै कथाशैलीमा तयार पारिएको भिडियोमा मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन्। थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्य समेटिएको यस भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। यसअघिको टिजरमा मिरुनालाई नदेखेर खोजी गरेका दर्शकले यस गीतमा भने उनलाई देख्न पाएका छन्।
आगामी दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट देशभर प्रदर्शनमा आउने यस चलचित्रमा दयाहाङ, विपीन कार्की, विजय, बुद्धि, रिश्मा, सिर्जना र मिरुनाका साथै पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल लगायतका कलाकारहरूको जम्बो टोलीको अभिनय रहेको छ।
बाँसुरी फिल्मस्को प्रस्तुति रहेको यस चलचित्रका निर्माताहरू मणिराम पोखरेल, मधु मिजार, विशाल गुरुङ (एलजी) र निर्देशक रामबाबु गुरुङ स्वयं हुन् भने सागर राज कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। यसलाई नेपालभित्र ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले र विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्ने जिम्मा लिएका छन्।
गीतः




