
काठमाडौं – अभिनेता अनुप विक्रम शाहीले आगामी चलचित्र ‘टनेल २६’ लाई नेपाली चलचित्र उद्योगकै पहिलो जम्बी चलचित्र भएको दाबी गरेका छन्। नेपाली चलचित्रमा यसअघि खासै नदेखिएको हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण यसमा रहेकाले पृथक स्वाद र फरक कथावस्तु खोज्ने दर्शकका लागि यो चलचित्र विशेष बन्ने उनको विश्वास छ।
नेपाल, भारत र भुटानको संयुक्त सहकार्यमा निर्माण भएको यो चलचित्र आगामी असोज २३ गतेबाट प्रदर्शनमा आउँदैछ। तीन देशको सहकार्यमा बने पनि नेपालमा यो पूर्णरूपमा नेपाली भाषामै प्रदर्शन हुने भएकाले यसलाई आफ्नै नेपाली चलचित्रका रूपमा ग्रहण गर्न अनुपले स्पष्ट पारेका छन्। उनका अनुसार चलचित्र भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँको स्थानीय भाषामा डब गरेर रिलिज गरिनेछ।
यस चलचित्रको अधिकांश छायांकन वास्तविक टनेलभित्र गरिएको थियो। टनेलभित्रको सुटिङ अनुभव निकै कष्टकर भए तापनि हाल सार्वजनिक टिजरले पाइरहेको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहले सम्पूर्ण दुःख बिर्साएको अभिनेता शाहीले अनुभव साटेका छन्। नितान्त फरक विधामा निर्माण भएको ‘टनेल २६’ प्रति अहिले दर्शकको कौतुहलता बढ्दै गएको छ।




