‘ककाकिकी’को भव्य प्रिमियर, चलचित्रकर्मीबाट प्रशंसा; सेन्सरबाट युनिभर्सल प्रमाणपत्र



चलचित्र ‘ककाकिकी’को प्रिमियरमा मञ्चमा उभिएका कलाकार तथा निर्माण टोली

काठमाडौं । हास्यप्रधान नेपाली चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा भएको प्रिमियरमा चलचित्रका कलाकार र निर्माण टोलीसँगै नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मी उपस्थित थिए। चलचित्र आउँदो शुक्रबार, मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।

चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मीले यसको प्रस्तुति, कथावस्तु र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरे। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा देखाएको फरकपन र मेहनतको तारिफ भयो। प्रदर्शनका क्रममा हलमा पटक-पटक हाँसो गुन्जिएको थियो।

‘ककाकिकी’को प्रिमियरमा मञ्चबाट बोल्दै कलाकार

प्रिमियरमा पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई र गायक शिव परियारलगायतले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिए। उनीहरूले कथा भन्ने शैली र कलाकारको अभिनय रुचाउँदै चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

निर्देशक बिक्की अग्रवालले चलचित्रकर्मीको प्रतिक्रियाले आफूहरू खुसी भएको बताए। टोलीले निकै मेहनत गरेर चलचित्र बनाएको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकको हातमा सुम्पिने बेला आएको बताए। दर्शकले दिने प्रतिक्रियालाई सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।

चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरको प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको बताए। अब उनीहरू दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छन्।

यसैबीच, केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘ककाकिकी’लाई युनिभर्सल प्रमाणपत्र दिएको छ। यससँगै सबै उमेर समूहका दर्शकले चलचित्र हेर्न पाउनेछन्। हास्यप्रधान विषयमा बनेको चलचित्र परिवारका सबै सदस्यले सँगै बसेर हेर्न सक्नेछन्।

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायतको अभिनय छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको अवधारणा सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा) स्क्रिप्ट डक्टर हुन्।

छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअप अनिश तामाङ, वेशभूषा डिजाइन सुमन परियार र प्रोडक्सन हेडको जिम्मेवारी अरुण रेग्मीले सम्हालेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu