
काठमाडौं – अटिजम प्रभावित दिदी र भाइबीचको गहिरो आत्मीयतालाई पर्दामा उतारेको चलचित्र ‘पार्वती’ को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ। गुरुपूर्णिमाको अवसर पारेर बुधबार निर्माण पक्षले दर्शकमाझ ल्याएको १ मिनेट ५७ सेकेन्ड लामो भिडियोले भावुक बनाउँछ।
साहिल खानले सम्पादन गरेको टिजर पूर्ण रूपमा मुख्य पात्र पार्वती (नीता ढुङ्गाना) र उनका भाइ किरण (अशोक दर्जी) मा केन्द्रित छ। आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रको छोटो झलकले दर्शकमा राम्रै चर्चा दिने सङ्केत गरेको छ।
अभिनेत्री नीता स्वयम्को कथा तथा निर्देशन रहेको यस चलचित्रमा उनी र अशोकका अलावा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतले अभिनय गरेका छन्। नीताकै कथा रहेको चलचित्रलाई शिवम् अधिकारीले स्क्रिप्टको रूप दिएका हुन्। हरिहर अधिकारीको लगानी रहेको ‘पार्वती’ मा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन्।
टिजर:



