
काठमाडौं – आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा २’ को डान्सिङ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। भर्खरै मात्र छायांकन गरिएको यस गीतको भिडियोमा सामूहिक विवाहको रमाइलो माहोल देखाइएको छ, जहाँ दुलाहाहरूसहित मुख्य कलाकारहरू पल शाह, मलिका महत र आकाश श्रेष्ठले छमछमी सामूहिक नृत्य गरेका छन्। दर्शकले रुचाएको यस गीतमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ भने पल र मलिकाको यो पहिलो चलचित्र सहकार्य हो।
बाबुल गिरीको शब्द तथा सङ्गीत रहेको यस गीतमा रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। उनीहरूलाई सामूहिक (कोरस) स्वरमा शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालले साथ दिएका छन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रमा पल, मलिका र आकाशका साथै विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। चलचित्रको लेखनमा चन्द्र पन्त र रोशन भट्टले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट एक्लैले तयार पारेका हुन्।
करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको यस चलचित्रमा नवराज उप्रेतीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। आरआर फिल्मस्ले देशभर वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।



