
काठमाडौं – पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘अक्षरा’ अब दशैंको छेको पारेर आगामी असोज २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। यसअघि भदौ २६ गते प्रदर्शन तय भई बुकिङ समेत खुला भइसकेको अवस्थामा रसुवा बाढीको कारण देखाउँदै मंसिर २४ गतेलाई सारिएको थियो। तर, निर्माण पक्षले मंगलबार चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै असोज २३ को नयाँ प्रदर्शन मिति तय गरेको जानकारी गराएको हो। सार्वजनिक पोस्टरहरूमध्ये एकमा न्यान्सी र सुशील सिटौलाबीचको आगो बलिरहेको दृश्यले उनीहरूबीचको तिक्ततापूर्ण सम्बन्धलाई दर्साएको छ भने अर्को पोस्टरमा अन्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ।
विनयराज पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको यस चलचित्रमा न्यान्सी खड्का र सुशील सिटौलाका साथै रिस्ता बस्नेत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना र त्रिलोचन न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रमा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, कर्णराज गिरीको सङ्गीत, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ।



