धरान । धरानमा पहिलो पटक आयोजना हुन लागेको ‘धरान फिल्म फेस्टिभल’ का लागि चलचित्र आवेदन खुलेको छ। मंगलबारदेखि चलचित्र पठाउन मिल्ने गरी अनलाइन फारम सार्वजनिक गरिएको हो।

बीपीफोर इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको महोत्सवमा सहभागी भई आफ्ना चलचित्र प्रदर्शन गर्न चाहनेले चलचित्र पठाउन सक्नेछन्। फिचर चलचित्र, छोटो चलचित्र, डकुमेन्ट्री र अन्य विधाका चलचित्रका लागि आवेदन खुला गरिएको छ।
आयोजकले महोत्सवको आधिकारिक फेसबुक पेजमार्फत क्युआर कोड र लिङ्क सार्वजनिक गरेको छ। आयोजक संस्थाका सञ्चालक तथा महोत्सव निर्देशक बिनोद विश्वकर्माका अनुसार महोत्सवको आधिकारिक वेबसाइट धरानफिल्मफेस्टिभल डट ओआरजी मार्फत चलचित्र पठाउन सकिन्छ। इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबसाइटबाट पनि चलचित्र पठाउन सकिनेछ। अनलाइन फारम १० मंसिरसम्म मात्र खुला रहनेछ।
महोत्सव आगामी मंसिर २७ र २८ गते धरानमा हुनेछ। निर्देशक विश्वकर्माका अनुसार महोत्सवमा छनोट भएका चलचित्रको प्रदर्शन, वर्कशप तथा मास्टरक्लास, चलचित्र पत्रकार र कलाकारबीच अन्तरक्रिया, चलचित्र पर्यटनबारे प्यानल डिस्कसन, विशेष चलचित्र प्रदर्शन, विभिन्न क्षेत्रका व्यक्तित्वको सम्मान र सांस्कृतिक प्रदर्शनी हुनेछन्।
महोत्सवको आधिकारिक वेबसाइट र इभेन्टलयमार्फत कार्यक्रमका विभिन्न विधाका रजिस्ट्रेसन फारम खुल्ने आयोजकले जनाएको छ।


