
काठमाडौं । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’ का कलाकारको लाइनअप पूरा भएको छ। साउनमा आधिकारिक रूपमा निर्माणको घोषणा गरिएको चलचित्र अब छिट्टै छायांकनमा जाँदै छ।
चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा अर्थात् ‘भक्ते भाइ’, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय छ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ यो चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।
चलचित्र सामाजिक-कमेडी विधाको हो। यसले भरपुर मनोरञ्जनका साथै एउटा उत्कृष्ट सामाजिक-कमेडी कथा पस्कने दाबी निर्माण पक्षले गरेको छ। निर्देशक आचार्यले चलचित्र नेपाली माटो सुहाउँदो हुने बताएका छन्।
सुब्रत आचार्यको निर्देशन रहेको यो उनको तेस्रो चलचित्र हो। उनले यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ती’ निर्देशन गरिसकेका छन्। कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशन हरि हुमागाईंको छ।
चलचित्रका निर्माता कर्ण कार्की हुन्। गत वर्ष ‘होस्टेल ३’ बाट चलचित्र निर्माणमा आएका कार्कीको यो दोस्रो चलचित्र हो। कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन्। धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माता तथा सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसर छन्।




