चलचित्र विकास बोर्डका समितिमा सदस्य बन्न पहिलोपटक खुला आह्वान



चलचित्र विकास बोर्डको कार्यालय भवन

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्ना समितिहरूमा सदस्य बन्न इच्छुक चलचित्रकर्मी तथा विषयगत विज्ञहरूबाट पहिलोपटक सार्वजनिक रूपमा आवेदन माग गरेको छ। बोर्डअन्तर्गतका सबै समितिलाई विज्ञता र कार्यक्षेत्रअनुसार व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले बोर्डका अध्यक्ष मनिष पण्डितले यो खुला आह्वान गरेका हुन्।

बोर्डको दैनिक कामकाज, नीतिगत निर्णय, योजना निर्माण तथा कार्यक्रम कार्यान्वयनमा समितिहरूको भूमिका बलियो बनाउन यो पहल गरिएको बोर्डले जनाएको छ। यसअन्तर्गत विभिन्न समिति र तिनका शाखालाई विज्ञताका आधारमा स्तरोन्नति गर्दै सम्बन्धित विषयका जानकार, अनुभवी र दक्ष व्यक्तिको सहभागिता सुनिश्चित गरिनेछ।

बोर्डको कामकारबाही सीमित व्यक्तिको सुझावमा मात्र निर्भर नभई चलचित्र क्षेत्रका विभिन्न विधामा सक्रिय विज्ञ तथा सरोकारवालाको सामूहिक ज्ञान र अनुभवबाट अघि बढ्नुपर्ने अध्यक्ष पण्डितको धारणा छ। यसअघि समितिमा सदस्य मनोनयन गर्दा व्यक्तिगत पहुँच र निकटताका आधारमा अवसर सीमित हुने गरेको गुनासो चलचित्र क्षेत्रमा सुनिँदै आएको थियो। सार्वजनिक आवेदन आह्वानले योग्यता र अनुभव भएका जोकोहीलाई अवसर दिने र बोर्डको कार्यप्रणालीमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।

बोर्डले चलचित्र निर्माता, निर्देशक, चलचित्र अनुसन्धानकर्ता, अनुसन्धानमा रुचि भएका व्यक्ति, विषयगत विज्ञ, कार्यक्रम व्यवस्थापक तथा कार्यक्रम र परियोजना सञ्चालनको ढाँचासम्बन्धी विज्ञलगायत चलचित्र क्षेत्रका विभिन्न विधामा दक्ष व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक व्यक्तिले आफ्नो विषयगत विज्ञता खुल्ने गरी व्यक्तिगत विवरण सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको इमेल fdbnepal@gmail.com मा पठाउनुपर्नेछ। थप जानकारीका लागि ह्वाट्सएप नम्बर ९८०३४१२९५६ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

समितिहरूलाई औपचारिक संरचनामा मात्र सीमित नराखी नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म सक्रिय र जिम्मेवार बनाउने यो प्रयासले बोर्डको कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu