‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, उपासना–सोनमको जोडी



चलचित्र ‘जलाकी’को गीत ‘पहिलो माया’मा उपासना सिंह ठकुरी र सोनम तोप्देन

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सरित रायनको संगीत रहेको गीतमा राम अबिरल बिष्टको शब्द तथा रोहित सोनार र मेलिना राईको स्वर छ ।

प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणमा आधारित गीतमा चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु र दीपिका मगर देखिएका छन् । भिडियोमा सोनम र उपासनाको जोडी निकै सुहाएको छ ।

‘खुस्मा’बाट चर्चामा आएका निर्देशक अशोक थापा मगरको यो चलचित्रका यसअघि ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । ती गीतले युट्युब र टिकटकमा राम्रो प्रतिक्रिया पाएका छन् ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाको स्तम्भलाई जनाउने शब्द हो । यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक मगरले बताएका छन् ।

चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय छ । विशेष भूमिकामा क्याप्टेन विजय लामा छन् भने बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन् । मिस सिक्किम साहारा हाङमा लिम्बुले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रका निर्माता ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । चलचित्र गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu