पत्रकार तथा गायक खेम रिसाल एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर आए, यम बरालको शब्द–संगीत, लिरिकल भिडियो सार्वजनिक



काठमाडौं । पत्रकार तथा गायक खेम रिसाल करिब एक दशकपछि नयाँ गीत ‘भुलेकै जाती’ लिएर दर्शकसामु आएका छन्। यम बरालले शब्द र संगीत तयार पारेको गीतको एरेन्ज मदन केसीले गरेका हुन्।

नयाँ गीत 'भुलेकै जाती' को कभर तस्बिर
नयाँ गीत ‘भुलेकै जाती’ को कभर

प्रेममा बिछोड भए पनि निराश नभई जीवनलाई अघि बढाउनुपर्छ भन्ने भाव गीतमा व्यक्त गरिएको छ। गीतको लिरिकल भिडियो सार्वजनिक भइसकेको छ भने केही समयपछि म्युजिक भिडियो पनि बनाउने तयारी रहेको गायक रिसालले जानकारी दिए।

दुई दशकदेखि पत्रकारितामा सक्रिय रिसालको सानैदेखि संगीतप्रति रुचि थियो। उनले २०७३ सालमा पहिलो गीतसंग्रह ‘थालनी’ सार्वजनिक गरेका थिए।

“मैले सानैदेखि दुईवटा सपना बोकेर हिँडेको थिएँ। एउटा गायक बन्ने र अर्को टेलिभिजन प्रस्तोता तथा पत्रकार बन्ने। दुईमध्ये पत्रकारितालाई पेसा बनाएर अघि बढेँ। संगीत सौखमै सीमित रहेजस्तो भएको छ,” रिसालले भने, “तर अब समय मिलाएर गीत–संगीत सार्वजनिक गरिरहने कोसिसमा छु। नयाँ गीतमा यम बराल दाइसँग सहकार्य गर्न पाउँदा औधी खुसी छु। उहाँ मेरा आइडलमध्ये एक हुनुहुन्छ।” उनका अनुसार थप तीनवटा गीत रेकर्डिङको तयारीमा छन्।

गीत पुतलीसडकस्थित ए लेभल स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङ अनिष लिम्बुले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतमा नगेन्द्र राईको बाँसुरी, सञ्जीव लिम्बुको गिटार, हेमन्त कान्छा रसाइलीको सारङ्गी र मदन रेग्मीको मादल सुन्न सकिन्छ।

‘भुलेकै जाती’ गीत खेम रिसाल क्रिएट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu