काठमाडौं । बाल्यकालदेखि नै चलचित्रप्रति विशेष रुचि राख्ने उदित थापाको सपना कुनै समय नायक बन्ने थियो। सानैदेखि फिल्म हेर्न पाए खुसी हुने उनी हिरो बन्ने हुटहुटी बोकेर हुर्किएका थिए। तर कक्षा ४ पछि उनको मनमा गायक बन्ने सपनाले ठाउँ लियो र त्यसपछि उनी सङ्गीतको यात्रामा लागे।

सङ्गीतप्रतिको लगावका कारण उनले वर्षौंसम्म ललितकला क्याम्पसमा सङ्गीत साधना र अध्ययनमा समय बिताए। सङ्गीत क्षेत्रमा लागेको करिब २० वर्ष भइसक्दा पनि आफूलाई अझै सिक्न बाँकी रहेको उनी बताउँछन्। गायनसँगै नृत्य र अभिनयलाई पनि अघि बढाइरहेका थापा अहिले कलाकारिताका विभिन्न विधामा आफूलाई निखार्ने प्रयासमा छन्।
मण्डला थिएटरको अध्ययन पूरा गरिसकेका थापा अब चलचित्र क्षेत्रमा अभिनय, नृत्य र एक्सनको प्रशिक्षण लिँदै अघि बढ्ने तयारीमा छन्। उनका अनुसार उद्देश्य केवल सफल कलाकार बन्नु मात्र होइन, एउटा असल कलाकारका रूपमा आफ्नो जीवनलाई सार्थक बनाउनु हो। बाँचुन्जेल सिक्दै र प्रयास गर्दै जीवन बिताउन चाहने र सफल हुन्छु कि हुन्नँ थाहा नभए पनि असल कलाकार भएर मर्न चाहने उनको भनाइ छ।
यसैबीच उदित थापाको स्वर तथा अभिनय रहेको नयाँ गीत ‘सिता राम’ सार्वजनिक भएको छ। गीतमा प्रेमकवि पुरुषोत्तम ढुङ्गेलको शब्द र एचबीएन किस्मतको लय तथा सङ्गीत संयोजन छ। गीतमा दीपिका बयाम्बु मगर र उदित थापाको स्वर सुन्न सकिन्छ।
नाम्गेल लामा (टाइगर) को नृत्य निर्देशन रहेको गीतमा उदित थापा र रिया लामाले अभिनय गरेका छन्। गीतको निर्देशन उदित थापा आफैँले गरेका हुन् भने निर्माण शिवकुमारले गरेका छन्। गीतको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। गीत ‘सीताराम उदित थापा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।


