काठमाडौँ । नेपाली मौलिक लोकसङ्गीतलाई आधुनिक शैलीसँग जोड्दै केन्द्र मोशन पिक्चर्सले ‘रूमालै चिनो छ’ म्युजिक भिडियो सार्वजनिक गरेको छ। भिडियो केन्द्र मोशन पिक्चर्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गायक तथा सङ्गीतकार सिरोई (CIROI) ले स्वर र सङ्गीत दिएको गीतमा परम्परागत कौडा सङ्गीतको मौलिकता जोगाउँदै आधुनिक प्रयोग गरिएको छ। गीतमा खैँजडीको परम्परागत तालसँगै हिमाली वाद्ययन्त्र टुङ्ना र नेपाली बाँसुरीको धुन समावेश छ। आधुनिक सङ्गीतको प्रयोग गर्दा पनि लोकभाकाको पहिचान र सांस्कृतिक भावनालाई उत्तिकै महत्त्व दिइएको छ। गीतको सङ्गीत उत्पादन जेन्रिक्स स्टुडियो (ZANRIX STUDIO) मा गरिएको हो।
गीतको यही अवधारणा भिडियोको कथामा पनि उतारिएको छ। मौलिक सङ्गीतको खोजीमा पश्चिम नेपालको एउटा गाउँ पुगेकी युवा महिला सङ्गीतकार र स्थानीय गायकबीचको साङ्गीतिक सम्बन्ध भिडियोमा देखाइएको छ। आधुनिक सङ्गीत र गाउँमा जीवित लोकसङ्गीतबीचको भेटलाई आपसी सम्मान, जिज्ञासा र आत्मीयताको कथामार्फत प्रस्तुत गरिएको छ।
भिडियोको छायांकन स्याङ्जाको ऐतिहासिक सिरुबारी गाउँमा गरिएको हो। स्थानीय जनजीवन, परम्परागत घर, प्राकृतिक दृश्य र संस्कृतिलाई यथासम्भव स्वाभाविक रूपमा देखाउने प्रयास गरिएको छ। कृत्रिम दृश्यभन्दा वास्तविक परिवेश र सरल दृश्यात्मक कथावाचनलाई प्राथमिकता दिइएको छ।
‘रूमालै चिनो छ’ ले नयाँ पुस्ताका सङ्गीतकारलाई मौलिक सङ्गीतको खोजीमा गाउँबस्तीसम्म पुग्न, स्थानीय कलाकारका सिर्जना सुन्न र सङ्गीतको सांस्कृतिक पृष्ठभूमि बुझ्न प्रेरित गर्ने उद्देश्य राखेको छ। मौलिक सङ्गीतलाई आधुनिक बनाउनु भनेको त्यसको पहिचान मेटाउनु नभई मौलिकतालाई सम्मान गर्दै नयाँ पुस्तासम्म पुर्याउनु हो भन्ने सन्देश भिडियोले दिन खोजेको छ।
केन्द्र लिम्बूको निर्माण रहेको भिडियोमा मनोज गुरुङ र चाहना राना मगरको मुख्य अभिनय छ। भिडियोको निर्देशन तथा छायांकन विशाल रोका मगरले गरेका हुन्। सम्पादन सागर लामिछाने मगरले गरेका छन् भने रङ्ग संयोजन (कलर ग्रेडिङ) सुप्रिम पराजुलीले गरेका छन्।




