
काठमाडौं । इजरायलको नेफेश थिएटरको एकल नाटक ‘विदआउट एन इभिल आई’ काठमाडौंमा मञ्चन भएको छ । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा बिहीबार मञ्चन भएको एक घण्टा लामो नाटक प्रज्ञा कुञ्जका विद्यार्थी र आमन्त्रित अतिथिले हेरेका थिए ।
नाट्य कथावाचन र स्ट्यान्डअप कमेडी मिसाइएको यो नाटक इजरायली अभिनेता तथा लेखक असफ बेन शिमोनको जीवनमा आधारित छ । बिस्तारै आँखाको ज्योति गुमाउँदै जाँदा उनले जीवनलाई नयाँ ढंगले बुझ्न र कदर गर्न सिकेको कथा नाटकमा देखाइएको छ ।

नाटक बेन शिमोन आफैंले लेखेका र अभिनय गरेका हुन् । नेफेश थिएटरका कलात्मक निर्देशक हावर्ड रिप निर्माता तथा अनुवादकका रूपमा जोडिएका छन् । उनले अंग्रेजी, हिब्रु र यिडिस भाषामा सयभन्दा बढी नाटक निर्देशन गरिसकेका छन् । थिएटरका प्राविधिक निर्देशक नोआम टोप्लियन पनि टोलीमा थिए ।
यसअघि कार्तिक १८ गते (४ नोभेम्बर) इम्पेरियल वर्ल्ड स्कुलले लालाबालासँगको सहकार्यमा आयोजना गरेको ‘थिएटर फेस्टिभल २०२६ – सिजन ६’ मा पनि यो नाटक मञ्चन भएको थियो ।
नाटकबारे नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले भने, ‘रंगमञ्चले सिमाना नाघेर कथाको शक्तिमार्फत मानिसलाई जोड्छ । मानव आत्माको दृढता र कलाको विश्वव्यापी शक्ति झल्काउने यो प्रेरणादायी इजरायली प्रस्तुति नेपाली दर्शकसँग बाँड्न पाउँदा दूतावास खुसी छ ।’
कला र संस्कृतिको आदानप्रदानमार्फत नेपाल–इजरायल सांस्कृतिक सम्बन्ध बलियो बनाउने प्रतिबद्धताअनुरूप यो प्रस्तुति गरिएको दूतावासले जनाएको छ ।




