‘सारथी’को शीर्ष गीत सार्वजनिक, मल्टिप्लेक्समा बुकिङ खुल्यो, सुरुमै ५० भन्दा बढी शो



चलचित्र ‘सारथी’को दृश्य

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको कुमार गजुरेल निर्देशित चलचित्र ‘सारथी’को शीर्ष गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै देशभरका प्रमुख मल्टिप्लेक्स हलमा चलचित्रको अग्रिम बुकिङ पनि खुलेको छ ।

क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज र बिग मुभिजलगायतका हलमा बुकिङ खुलेको हो । सुरुकै चरणमा चलचित्रले ५० भन्दा बढी शो पाएको निर्माण टोलीले जनाएको छ ।

गायक बाबुल गिरीको स्वर रहेको शीर्ष गीतमा निर्देशक कुमार गजुरेल र बाबुल गिरीको शब्द छ । गीतमा संगीत पनि बाबुलकै हो । मार्मिक भावको यो गीतको भिडियोमा मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी देखिएका छन् । गीतले चलचित्रको कथा र पात्रबीचको भावनात्मक सम्बन्ध झल्काउने प्रयास गरेको छ ।

यसअघि चलचित्रका पोस्टर, टिजर, गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । नयाँ कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको अभिनयले दर्शकको ध्यान खिचिरहेको छ । लामो समयपछि लोकप्रिय ‘दर्पणछाया’ जोडी निरुता सिंह र उत्तम प्रधान एउटै चलचित्रमा देखिनु पनि ‘सारथी’को प्रमुख आकर्षण बनेको छ ।

म्याग्दीको विकट गुर्जा गाउँको परिवेश र त्यहाँको जनजीवनमा आधारित चलचित्रले स्थानीय जीवन, मानवीय संवेदना र सम्बन्धका भावनात्मक पक्षलाई पर्दामा उतारेको छ ।

कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुइकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायतको पनि अभिनय छ ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् भने निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माता छन् । अमिर केसी लाइन निर्माता हुन् ।

चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन् भने संगीत बाबुल गिरी र प्रशान्त शिवाकोटीको छ । राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक छन् । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu