
काठमाडौं । अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ महिला चरित्रप्रधान कथामा आधारित भएको बताएकी छन् । उनका अनुसार यो सिनेमा कथानक र प्राविधिक दुवै हिसाबले बलियो छ ।
चलचित्रको नामले नै आफूलाई आकर्षित गरेको र कथा पढेपछि समय मिले जोडिने निर्णय गरी अनुबन्ध भएको उनले सुनाइन् ।
‘सिन्दुरे जात्रा’का कलाकार, निर्देशक र केही प्राविधिक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’कै भए पनि धेरै कलाकार, निर्माता र प्राविधिक फरक रहेको उनको भनाइ छ । यो सिनेमाको कथा ‘पूर्णबहादुरको सारङ्गी’सँग नमिल्ने र यो त्यसको सिक्वेल पनि नभएको उनले दाबी गरिन् ।
उनका अनुसार नेपाली समाजले आजसम्म महिलालाई कसरी हेर्दै आएको छ भन्ने विषय सिनेमाको कथामा समेटिएको छ । तर, सरोज पौडेल निर्देशित यो सिनेमाले न्यायाधीश बन्ने वा कुनै पक्ष–विपक्षमा वकालत गर्ने प्रयास नगरेको उनले स्पष्ट पारिन् ।
“हामीले यस पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भन्ने प्रश्न समाजलाई नै छोडेका छौँ ।”
सिनेमामा आफूले नबोलेरै मौन विद्रोह गरेको उनले बताइन् । तर, त्यो विद्रोह कस्तो हो भन्ने भने उनले खुलाइनन् ।
चलचित्रमा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतको अभिनय छ ।
निर्देशक सरोज पौडेलकै कथा रहेको चलचित्रको लेखन सबिन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता, अनिश अधिकारी लाइन निर्माता र दिनेश खड्का कार्यकारी निर्माता छन् ।
चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, विशाल घिमिरेको क्रिएटिभ निर्देशन र प्रशान्त सिवाकोटीको संगीत छ ।
मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।


