- कृषा चौलागाईंले पल र प्रदीपलाई एकसाथ पर्दामा ल्याउँदै
- पल र प्रदीपसँग स्क्रिन सेयर गर्दै सिम्रन, जुनाको डेब्यु
काठमाडौं । केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सले चर्चित नायक पल शाह र प्रदीप खड्कालाई एउटै फिल्ममा उतार्ने भएको छ। कृषा चौलागाईं र विशाल चौलागाईंले बनाउन लागेको “उही तिम्रो” फिल्मको पूजा गरी शुभ मुहूर्त गरिएको छ।

यसअघि पनि मल्टिस्टारर फिल्म निर्माण गरिसकेको यो टिमले यस पटक पनि दुई चर्चित नायकलाई एकसाथ ल्याएको हो। फिल्मका नायिकामा ‘ब्युटिफुल राइजिङ स्टार’ भनिने सिम्रन पन्त छन्। जुना विश्वकर्माले यही फिल्मबाट डेब्यु गर्दैछिन्।
फिल्मको छायांकन मंसिरबाट म्याग्दीका रमणीय स्थलमा सुरु हुनेछ। बाँकी भागको छायांकन काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जनाएको छ।

पल, प्रदीप, सिम्रन र जुनासँगै फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तामुको पनि अभिनय छ। कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन्।
फिल्मको निर्देशन कृषा चौलागाईंको हो भने छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्। निर्माता विशाल चौलागाईं हुन्। फाइनान्स म्यानेजर सविन ढुङ्गाना, प्रोडक्सन म्यानेजर रविन बख्रेल र मुख्य सहायक निर्देशक वसन्त अधिकारी छन्। संगीत सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको छ।
फिल्म आर आर फिल्म्सले वितरण गर्नेछ। वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ हुन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको निर्देशक कृषाले जानकारी दिएकी छन्। फिल्म आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउनेछ।




