ठुलोपर्दा डटकम, काठमाडौँ ।
राजधानीमा ‘अझै पनि’को प्रिमियर सम्पन्न
रिलिजको पुर्वसन्ध्यामा नेपाली चलचित्र ‘अझै पनि’को भब्यरुपमा प्रिमियर सम्पन्न भएको छ । फागुन १५ गते रिलिज हुने यस चलचित्रको रिलिजको ३ दिन अगाडी मंगलबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो ।
प्रिमियर कार्यक्रममा अझै पनि युनिट, नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सदाबहार अभिनेता भुवन केसीको साथै नायिकाहरु निशा अधिकारी, केकी अधिकारी, प्रियंका कार्की, कृति भट्टराई, नम्रता श्रेष्ठ लगायतका कलाकारको उपस्थिती रहेको थियो । प्रिमियरमा स्व. निर्देशक आलोक नेम्बाङ्गकी आमा सुनन्दा तथा आलोकका भिनाजु तथा ‘अझै पनि’का कलाकार विजय लामाको पनि उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै निर्माता तथा नायक सुर्दशन थापाले स्व.निर्देशक नेम्वागंलाई सम्झेर भावुक हुँदै यति बेला आलोककी आमाको आशिर्वादको खाँचो रहेको बताए । त्यस्तै, निर्माता पुनम गौतमले आफ्नो सानै देखि चलचित्र रुचिको विषय भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । समाजमा बसेर सामाजिक मान्यता हेर्न रुचाउने बताउने गौतमले ‘अझै पनि’ समाजको यर्थाथ चित्रण गर्ने प्रतिनिधि चलचित्र बनेकाले सबैलाई एक पटक हर्न र प्रतिक्रिया दिन आग्रह गरिन् । आलोक नेम्वाङ्गको अन्तिम र आफ्नो पहिलो चलचित्र बन्नु एउटा संयोग भएको बताउँदै गौतमले आलोकको अन्तिम कोशेली ‘अझै पनि’ मार्फत उहाँ जुनीजुनी आम नेपाली दर्शक र चलचित्रप्रेमीहरु माझ रहिरहने बताइन् ।
सुर्दशन थापा प्रोडक्सन तथा पुनम इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्रमा सुर्दशन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुगांना, पुष्प खड्का, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाकारको अभिनय रहेको छ ।
आलोक ट्रष्टद्वारा पहिलो म्यूजिक भिडियो निर्देशक शम्भुजित बास्कोटालाई सम्मान
मंगलवार आयोजित चलचित्र ‘अझै पनि’को प्रिमियर कार्यक्रममा ‘ट्रष्ट आलोक’ले नेपालको पहिलो म्यूजिक भिडियो निर्देशक शम्भूजित बास्कोटालाई सम्मान गरेको छ । नेपाली गीत-संगीतको इतिहासमा पहिलो पटक भिडियो बनाएका बास्कोटा अनवरत रुपमा नेपाली संगीत तथा चलचित्र क्षेत्रमा लागिपरेका व्यक्तित्व हुन् ।
सदाबहार नायक भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भैदिनाले’ बोलको गीतको भिडियोलाई बास्कोटाले निर्देशन गरेका थिए । उक्त भिडियोमा भुवन केसीको नै अभिनय रहेको थियो । विजय उदय पाल्पालीका शब्दमा बास्कोटाले नै संगीत भरेका थिए भने भिडियोलाई जयसिंह शाहले छायांकन गरेका थिए ।
सम्मानित भएपछि बास्कोटाले आलोक नेम्बाङ्ग कहिल्यै पनि दिवंगत हुन नसक्ने बताउँदै नामको अगाडी स्व. नलेख्न र नभन्न आग्रह गरे । आलोक श्रृजनाले भरिएको व्यक्ति भएकोले उनिभित्रको श्रृजना कहिल्यै मर्न नसक्ने बास्कोटाले बताए ।
स्व. निर्देशक आलोक नेम्बाङ्गको नाममा स्थापित उक्त ट्रष्टले हरेक बर्ष नेपाली संगीत तथा चलचित्र क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ । आलोक ट्रष्टको अध्यक्षमा आलोककी आमा सुनन्दा रहेकी छिन् भने संरक्षकमा पुनम इन्टरटेनमेण्ट रहेको छ ।