
पनौती – हिट नेपाली चलचित्र ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को औपचारिक छायाङ्कन काभ्रेको पनौतीबाट सुरु भएको छ। निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सोमबार एक शुभ मुहूर्त समारोहका साथ करिब साढे तीन करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन सुरु भएको जानकारी दिएका छन्।
निर्देशक देउजाका अनुसार, चलचित्रको पहिलो सट मुख्य अभिनेता आर्यन सिग्देलमाथि लिइएको थियो। चलचित्र निर्माण टिमले छायाङ्कनका लागि ६० दिनको कार्य तालिका निर्धारण गरेको छ। पनौतीमा चलचित्रका लागि विशेष र भव्य सेट निर्माण गरिएको छ।
‘झिँगेदाउ २’को कथावस्तु अघिल्लो चलचित्र ‘झिँगेदाउ’ जहाँ सकिएको थियो, त्यहीँबाट निरन्तरता दिइएको छ। यसले दर्शकलाई अघिल्लो कथासँग जोड्ने विश्वास निर्माण पक्षको छ।
पनौतीको छायाङ्कन सम्पन्न भएपछि निर्माण टिम काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा बाँकी दृश्यहरू कैद गर्न पुग्नेछ। चलचित्रलाई आगामी वर्षको दसैँमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकारहरूको बाहुल्यता रहेको छ। चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिस्ट लगायत पुराना तथा नयाँ पुस्ताका चर्चित कलाकारहरू क्रमशः वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष आदिको अभिनय रहनेछ।
निर्देशक ज्ञानेन्द्र देउजाकै कथामा आधारित यस चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्।




