हलमा ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’



काठमाडौं – पछिल्लो समयको व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’मा एकसाथ जोडी बाँधिएका चर्चित अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल यति बेला भने बक्स अफिसमा एकसाथ तर अलग अलग चलचित्रका साथ आएका छन्। शुक्रवार एकैसाथ पल अभिनीत ‘आ बाट आमा’ र बेनिशाको मुख्य भूमिका रहेको ‘द ब्लू लाइट’ रिलिज भएका छन्।

प्रदर्शनीको पहिलो दिनको तथ्याङ्क हेर्दा पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘आ बाट आमा’ ले हलहरूमा वर्चस्व जमाएको देखिन्छ। देशभर १५० भन्दा बढी शो पाएको यस चलचित्रले प्रारम्भिक टिकट बुकिङमा पनि उत्साहजनक नतिजा निकालेको छ। पारिवारिक प्रेम र आमाबाबु तथा सन्तानबीचको भावनात्मक सम्बन्धलाई समेटिएको यस फिल्मको व्यापारिक सफलता अब दर्शकको प्रतिक्रियामा निर्भर रहनेछ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यस चलचित्रमा पलका साथै बिपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त लगायतका कलाकारहरूको बाक्लो उपस्थिति छ। ओमकार पन्त र कृष्णप्रसाद सुवेदीसहितको टोलीले निर्माण गरेको यो चलचित्रले भावना प्रधान कथा रुचाउने दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

अर्कोतर्फ, अभिनेत्री बेनिशा हमाल आफैँले कार्यकारी निर्माताको जिम्मेवारी समेत सम्हालेको चलचित्र ‘द ब्लू लाइट’ को सुरुवात भने तुलनात्मक रूपमा कम शो सङ्ख्या देखिएको छ। यो चलचित्रले देशभर ७२ शोका साथ प्रदर्शन सुरु गरेको छ। बिहीबार साँझ आयोजित विशेष प्रिमियरमा उपस्थित सिनेकर्मी र समीक्षकहरूले चलचित्रको कथावस्तु, प्राविधिक पक्ष र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

बलिराम चौहानको निर्देशनमा बनेको ‘द ब्लू लाइट’ मा बेनिशाका साथै अर्पण थापा, आयुष्मान देशराज जोशी र सृष्टि श्रेष्ठ जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको छ। कमजोर सुरुवाती व्यापारलाई चिर्न अब यो चलचित्रका लागि दर्शकको सकारात्मक ‘वर्ड अफ माउथ’ नै एक मात्र बलियो आधार हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu