ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख ११ गते बाट प्रदर्शन हुने फिल्म ‘जन्मभूमि’ ले सेन्सर बोर्ड बाट ‘युनिभर्सल’ प्रमाण पत्र पाएको छ । मंगलवार सेन्सर भइसके पछी फिल्मले अहिलेको अवस्थामा पनि युवालाई राष्ट्रियता बोध गराउने भन्दै सेन्सर बोर्डले कुनै पनि दृश्यमा कैची नलगाउदै सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने गरि प्रमाण पत्र दिएको हो ।
यसै फिल्मबाट निर्देशक मोहन निरौला १९ बर्ष पछी फिल्म निर्देशनमा फर्किएका हुन् । निर्देशक निरौला भन्छन ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्म मार्फत दर्शकलाई राष्ट्रियता बोध गराउने प्रयत्न गरेको छु, हेरौँ कतिको सफल हुन्छु ।’ यसमा उनको निर्देशनसंगै लेखन र अभिनय पनि रहेको छ ।
राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, बार्ह्यी हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी वकालत गर्ने यस फिल्ममा निश्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की , नव कलाकार अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई, तथा विश्वकै कान्छा निर्देशक सौगात बिष्टको पनि अभिनय रहेको छ । यसमा अभिय गरेकै कारण आफुले फिल्म निर्देशन गर्ने प्रेरणा मिलेको सौगात बिष्टले बताउदै आएका छन् ।
युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा सुरज गिरीको लगानी रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् भने फिल्मका कास्टिङ डिरेक्टर पनि शान्तिप्रिय नै हुन् । फिल्मलाई उपत्यका भित्र सुनिल मानन्धर र मोफसलमा एफडी कम्पनिले प्रदर्शन गर्ने जिम्मा लिएको छ ।