ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कमै चलचित्रले मात्र पछिल्लो समयमा सोलो रिलिजको मौका पाइरहेको अवस्थामा यो साता एकसाथ तीन चलचित्र प्रदर्शनमा उत्रिएका छन् । पुनर्जन्म, झिग्राना र भिमदत्त अलनेपाल रिलिजमा आएका हुन् ।
एमके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र पुनर्जन्ममा आर्यन सिग्देल, गजित बिष्ट, केकी अधिकारी, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट लगायतका कलाकारको अभिनय छ । यो सिनेमामा मोहनकृष्ण श्रेष्ठ र भद्र बहादुर शाहीले लगानी गरेका छन् । चलचित्रमा बसन्तसँगै जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, अन्जु पन्त, जितु श्रेष्ठको स्वर, शिव ढकाल र नवराज कृष्ण थापाको छायांकन छ । चलचित्रलाई सजन श्रेष्ठको निर्देशन गरेका हुन् ।
चलचित्र ‘झिग्राना’ले सस्पेन्स तथा थ्रिलर कथा बोकेको छ । एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई पर्दामा उतारिएको छ । यात्राको क्रममा ‘झिग्राना’ नामको गाउँमा यो टोली बास बस्छ । त्यो गाउँमा एउटा कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिन्छ । यही समुहले ‘झिग्राना’ गाउँमा भोगेको विभिन्न रहस्यमय घटनालाई चलचित्रमा उठान गरिएको छ ।
झिग्रानामा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भूमिका छ । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन छ । चलचित्रको लेखन तथा निर्देशक पासाङ लामाले गरेका हुन् ।
त्यस्तै, हिमग्याप लामा ‘टाँसी’ले निर्देशन गरेको चलचित्र ‘भिमदत्त’ पनि रिलिज भएको छ । राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर शहादत प्राप्त गरेका भिमदत्त पन्तको जीवनकथामा आधारित रहेको चलचित्र ‘भिमदत्त’ निर्माता नवल खड्का भिमदत्तको भूमिकामा प्रस्तुत भएका छन् ।