ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यस बर्षनै प्रदर्शनमा आउने भनिएको फिल्म ‘अधकट्टी’ अब अर्को बर्ष अर्थात ०७२ साल जेठ ८ गते देशव्यापी प्रदर्शनमा आउने भएको छ । गएको फागुन १ गते प्रदर्शन मिति तोकेको फिल्म ‘अधकट्टी’ले अन्तिममा आएर ‘वन वे’ फिल्मसँग गोलाप्रथा गरेपछि फागुन १ गतेको प्रदर्शन मिति ‘वन वे’ले पाएको थियो । त्यसपछि आफ्नो प्रदर्शन मिति पर सारेको चलचित्र ‘अधकट्टी’ले मंगलबार मात्र आफ्नो नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको छ ।
अष्ट्रेलियामा प्रदर्शन भइसकेको यस चलचित्रको प्रचार प्रसार अब अर्को साताबाट सुरु गर्ने पनि निर्माता प्रदिप उदयले जानकारी दिएका छन् । फिल्म ‘अधकट्टी’ निर्माता प्रदिप उदयको जन्मदिनलाई लक्षित गर्दै प्रदर्शनमा ल्याउन लागिएको थियो । यस अघि पनि चलचित्रको निर्माण घोषणा निर्माण उदयकै जन्मदिनको अवसरमा गरिएको थियो ।
सुब्रत आचार्य निर्देशित चलचित्र ‘अधकट्टी’ डार्क कमेडी फिल्म हो । जहाँ विल्सन विक्रम राई, गौरव पहारी, प्रदीप बाँस्तोला, अशिष्मा नकर्मी र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको छ । अभिनेत्री नम्रता श्रेष्ठ अतिथि भूमिकामा छन् । सुवास ढकालको कथा रहेको फिल्ममा विजय अधिकारीको पटकथा एवं संवाद रहेको छ । राजन इशान मुख्य संगीतकार रहेको फिल्म ‘अधकट्टी’ मा बसन्त सापकोटाको अतिथि संगीत छ । फिल्मका छायाँकार हरी लामा घले हुन् । ‘अधकट्टी’ को लगानीमा अर्चना थापा, सुमीत रञ्जित उदयले प्रस्तुतकर्ता प्रदीप उदयसँग सहकार्य गरेका छन् ।