ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली अभिनेता राजवल्लभ कोइरालाले अभिनय गरेको हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’ को नेपालको प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र वितरक कम्पनी आइसफले जानकारी दिए अनुसार ‘हाइवे टू धम्पुस’ नेपालमा जेठ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।
नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा छायांकन गरिएको यस चलचित्रमा नेपाली नायक राजबल्लभ कोइरालासँगै सुएसा राणा,सुनिल श्रेष्ठ, देशभक्त खनाल,सायुस गुरुङ बज्राचार्य लगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । साथैं सो चलचित्रमा रिचेल हर्डवुड, गार्नर राइट, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ ।
‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा नायक राजबल्लभ कोइराला पाइलटको भूमिकामा देखिएका छन् । चलचित्रलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।