
काठमाडौं – ‘साइन्स-फिक्सन’ जनराको नेपाली चलचित्र ‘एक्लो-१’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको निर्माण पक्षले ललितपुरको लबीम मलमा एक विशेष कार्यक्रम आयोजना गर्दै करिब ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।
यो ट्रेलरले फिल्मको भव्य प्राविधिक पक्ष र रोचक कथावस्तुको झलक दिएको छ, जसलाई दर्शक तथा समीक्षकहरूले ‘हलिउड स्तर’को प्रयासका रूपमा हेरेका छन्।
निर्देशक प्रदीप शाहीका अनुसार, ‘एक्लो’ ले एक काल्पनिक भविष्यको कथा प्रस्तुत गर्दछ। कथा सन् २०३० मा खतरनाक भाइरसका कारण मानिसले पृथ्वी छोडेको पृष्ठभूमिमा सुरु हुन्छ। त्यसको ६० वर्षपछि, अर्थात् सन् २०९० मा, बेलायती अन्तरिक्ष यात्री ज्याक (जेमी बेकन) आफ्ना सहकर्मीसँग हिमालय क्षेत्रमा दुर्घटनाग्रस्त (क्रास-ल्यान्डिङ) हुन्छन्।

सोही क्रममा उनीहरूले हिमालको बीचमा रहेको एक लुकेको गुफाभित्र प्राचीन सहर पत्ता लगाउँछन्। त्यहाँ उनीहरूको भेट हिमालय क्षेत्रका पौराणिक रक्षक मानिने एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) सँग हुन्छ। यो भेटले नै फिल्मको मुख्य कथाको सूत्रपात गर्दछ। पत्रकार सम्मेलनमा निर्देशक शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई पश्चिमी साइन्स-फिक्सन जनराका तत्त्वसँग संयोजन गरेर नौलो प्रस्तुति दिएको जानकारी दिए।
कथालाई काभ्रेको पनौती र हिमालपारिको मुस्ताङ जस्ता सुन्दर तथा दुर्गम स्थानमा छायाङ्कन गरिएको छ। लन्डनमा रहेर फिल्म निर्माणमा सक्रिय शाहीले ‘एक्लो’ लाई प्राविधिक रूपमा उच्च स्तरको र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने सिनेमा बनाउने लक्ष्य राखेको बताए। कार्यक्रममा उनले भने, “हामी हलिउडमा जाने होइन, हलिउडलाई नेपाल ल्याउने प्रयास गर्ने हो। यसको एउटा प्रयास हो ‘एक्लो-१’।”
यसअघि ७८औँ विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल मा चलचित्र ‘एक्लो’ ले सहभागिता जनाउँदै कान्स मार्केटमा अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र ओटीटी प्लेटफर्ममाझ प्रवर्द्धन गर्ने अवसर पाएको थियो।
यसको अर्को महत्त्वपूर्ण सफलता डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्यूयोर्कस्थित विश्व प्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा हुने ऐतिहासिक प्रिमियर पनि हो।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाहीसहित प्रमुख कलाकारहरू प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली लगायतको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता दिनेश डिसीले व्यस्तताका बाबजुद पनि चलचित्रको कथावस्तु मन परेर काम गरेको अनुभव सुनाए।
‘अन्तिम संस्कार’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ जस्ता फिचर फिल्म निर्देशन गरिसकेका प्रदीप शाही को यो तेस्रो निर्देशन हो।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ, स्योन सविक सिंह र बेलायती अभिनेता जेमी बेकन को मुख्य भूमिका रहेको छ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। ‘एक्लो’ नेपालसहित विश्व बजारमा आगामी पुस १७ गते रिलिज हुने तयारीमा छ।
ट्रेलर:




