बलिउड अभिनेता धर्मेन्द्रको निधन



भारतीय सिनेमाका सदाबहार अभिनेता तथा बलिउडका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’को उपाधि पाएका धर्मेन्द्र सिंह देओलको ८९ वर्षको उमेरमा सोमबार दिउँसो १ बजे मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ। धर्मेन्द्र लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।

भारतीय मिडियाका अनुसार धर्मेन्द्रको अन्तिम संस्कार मुम्बईको विले पार्ले श्मशान भूमिमा गरिएको छ। उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बलिउडका थुप्रै हस्तीहरू आर्यघाट पुगेका थिए।

धर्मेन्द्रलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गत अक्टोबर १० तारिखमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था नाजुक भएपछि चिकित्सकहरूले उनलाई तीन दिन भेन्टिलेटरमा राखेर सघन उपचार गरेका थिए। स्वास्थ्यमा क्रमिक सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई उनी घर फर्केका थिए र घरमै उनको उपचार जारी थियो। तथापि, सोमबार भने उनले आफ्नै निवासमा अन्तिम श्वास लिए।

सन् १९३५ डिसेम्बर ८ मा पञ्जाबको नसराली गाउँमा जन्मिएका धर्मेन्द्र आफ्नो अतुलनीय व्यक्तित्व र आकर्षणका कारण ‘हि-म्यान’को उपनामले प्रख्यात थिए। उनको प्रभाव यति गहन थियो कि महान् अभिनेता देव आनन्दले समेत धर्मेन्द्रलाई देखेर ‘हे भगवान्, यस्तो अनुहार मलाई किन दिएनौ?’ भनी आश्चर्य व्यक्त गरेका थिए।

७ दशकभन्दा लामो अभिनय करिअरमा धर्मेन्द्रले ३०० भन्दा बढी हिन्दी चलचित्रमा आफ्नो सशक्त अभिनय प्रस्तुत गरेका छन्। उनका सर्वाधिक सफल र लोकप्रिय फिल्महरूमा ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’ र ‘प्रतिज्ञा’ जस्ता सिनेमाहरू पर्दछन्। उहाँले अन्तिम पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’मा काम गरेका थिए।

धर्मेन्द्रको बलिउडसम्मको यात्रा सहज थिएन। मुम्बईमा टिक्नका लागि उनले आफ्नो करिअरको सुरुवाती दिनहरूमा ग्यारेज र ड्रिलिङ फर्ममा काम गरेर महिनाको मात्र २०० रुपैयाँ तलब बुझ्थे। यो तलबले खर्च धान्न मुस्किल भएपछि उनले ‘ओभर टाइम’ समेत गर्नुपर्थ्यो।

सन् १९५० को दशकको अन्त्यतिर धर्मेन्द्रले ‘फिल्मफेयर ट्यालेन्ट हन्ट’मा भाग लिए र यसको विजेता बने। यही सफलताले उनलाई निर्देशक अरजन देसाईको चलचित्र ‘दिल भी तेरा हम भी तेरे’ मार्फत सन् १९६० मा अभिनयमा डेब्यु गर्ने अवसर जुरायो। यद्यपि, यो फिल्मले खास व्यावसायिक सफलता पाउन सकेन। सन् १९६६ मा आएको फिल्म ‘फूल और काटे’ ले भने धर्मेन्द्रलाई रातारात स्टारको उचाइमा पुर्‍यायो।

चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि नै सन् १९५४ मा उनले प्रकाश कौरसँग विवाह गरेका थिए। प्रकाश कौरतर्फ उनका चार सन्तान छन्: अभिनेता द्वय सनी देओल र बबी देओल, तथा छोरीहरू विजेता देओल र अजिता देओल। सन् १९८० मा उनले इस्लाम धर्म अपनाएर फिल्म ‘शोले’ की सह-अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए। हेमा मालिनीतर्फ उनका दुई सन्तान छन् – छोरी ईशा र छोरा अहाना।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu