याक्थुङ मुन्चुइत चोक सयङको आयोजनामा मोरङ्गको उर्लाबारी स्थित होटेल सिंघिममा आदिबासी जनजाति मातृभाषाका चलचित्रहरुको महत्व र बजारको विषयलाई लिएर एक बृहत अन्तरक्रिया सम्पन्न भएको छ । यस अन्तरक्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख अतिथि रहेका थिए । चलचित्र पत्रकार एवं आदिबासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले सो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि ईण्डिजिनियस फिल्म अर्काईभका अध्यक्ष नबीन सुब्बा र स्थानिय संचारकर्मी अबोध अविरलले टिप्पणी गरेका थिए ।
लिम्बु चलचित्रकर्मीहरुको संगठन याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्य चेम्जोङको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान पुर्याए बापट प्रेम सुब्बा र अपर्णा सेर्मालाई प्रमुख अतिथि राजकुमार राईले सम्मान पत्र प्रदान गरेका थिए । यसै कार्यक्रममा चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएकोमा आयोजक संस्थाको तर्फबाट राजकुमार राईलाई शुभकामना पत्र प्रदान गरिएको थियो । यस अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने क्रममा कार्यपत्र प्रस्तोता तुलाधरले आदिबासी जनजाति चलचित्रहरुको बजार अहिले केही च्यारिटी शो र डिभिडिमा सिमित रहेको बताउँदै यो बाहेकको पनि बजार रहेको कुरा औँल्याउनु भएको थियो भने प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राईले आफू बोर्डमा रहुन्जेलसम्म संधै नेपालको चलचित्रको हकहितकै पक्षमा लाग्ने प्रतिबद्दता जनाए ।
किरात राई चलचित्रकर्मी संघ र थारु चलचित्रकर्मी संघ सह-आयोजक, आदिबासी जनजाति चलचित्र महासंघ संयोजक र चलचित्र विकास बोर्डको आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति प्रायोजक रहेको यस कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार लगायत युवराज मास्कि रानामगर, अरुण प्रधान, अशोक चेम्जोङ, प्रेम सुब्बा लगायतका व्यक्तित्वहरुले आदिबासी जनजाति चलचित्रका विविध पक्षमाथि आ-आफ्ना धारणाहरु व्यक्त गरेका थिए ।